सीमावासीको घरदैलोदेखि दुर्घटनास्थलसम्म सक्रिय  डिआइजी भट्ट, घाइतेको उद्धार गरी आफ्नै गाडीमा अस्पताल पुर्‍याए

समाचार

रसीद आलम।
जनकपुरधाम ,२७ असार । सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका बाहिनीपति डिआइजी विष्णुप्रसाद भट्टले सीमावर्ती क्षेत्रको सुरक्षा, नागरिकसँगको प्रत्यक्ष संवाद र मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

मनसुनको समयमा बाढीको उच्च जोखिम रहेका मधेश प्रदेशका बारा, पर्सा, धनुषालगायत जिल्लाका सीमावर्ती बस्तीमा पुगेर डिआइजी भट्टले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुरक्षा चुनौती तथा विपद् जोखिमबारे जानकारी लिने अभियानलाई निरन्तरता दिएका छन्। यससँगै सीमा नाकाबाट हुने चोरी–तस्करी, लागूऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका विषयमा स्थानीयसँग अन्तरक्रिया गर्दै जनचेतना अभिवृद्धिमा समेत जोड दिएका छन्।

यही अभियानका क्रममा धनुषाको मटिहानी क्षेत्रबाट फर्किने क्रममा विपरीत दिशाबाट आएको एक यात्रुवाहक टेम्पु दुर्घटनामा परेको थियो। दुर्घटना देख्नासाथ डिआइजी भट्टसहितको सशस्त्र प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो।

डिआइजी भट्ट स्वयं उद्धार कार्यमा खटिँदै टेम्पुमा सवार घाइते यात्रुहरूको तत्काल उद्धार गरेका थिए। घाइतेहरूको अवस्था गम्भीर देखिएपछि उनले आफ्नै सशस्त्र प्रहरीको सवारीमा राखेर उपचारका लागि जनकपुर अस्पताल पुर्‍याएको स्थानीयवासीले बताएका छन्।

स्थानीयवासीहरूले डिआइजी भट्टको मानवीय र जिम्मेवार कार्यको खुलेर प्रशंसा गरेका छन्। “सुरक्षा फौजले देश र जनताको सुरक्षाका लागि खाएको कसम व्यवहारमै देख्न पाउँदा हामीलाई गर्व लागेको छ,” भन्दै उनीहरूले डिआइजी भट्ट र सशस्त्र प्रहरी टोलीप्रति आभार व्यक्त गरेका छन्।

सीमावासीको घरदैलोमा पुगेर समस्या सुन्नेदेखि आकस्मिक दुर्घटनामा घाइतेको ज्यान बचाउन स्वयं अग्रसर हुने डिआइजी विष्णुप्रसाद भट्टको कार्यशैलीले मधेश प्रदेशमा सशस्त्र प्रहरीप्रतिको नागरिक विश्वास अझ बलियो बन्दै गएको स्थानीयहरूको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *