बारा, साउन १९ ।भारत–नेपाल सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराले सञ्चालन गरेको विशेष अभियान उल्लेखनीय रूपमा प्रभावकारी बनेको छ। गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विशाल सिलवालको नेतृत्वमा सञ्चालन भइरहेको अभियानअन्तर्गत सीमावर्ती नाकाहरूमा निगरानी बढाइएपछि तस्करी संजालमाथि निरन्तर प्रहार हुँदै आएको छ।
सशस्त्र प्रहरीका अनुसार अभियानकै क्रममा बि.ओ.पि. बरैनियाका सशस्त्र प्रहरी निरीक्षक सन्तोष चौलागाईंको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छलि नेपाल भित्र्याइँदै गरेका विभिन्न प्रकारका अवैध मालसामान बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा दाखिला गरेको छ।
नं. १२ गण बाराले पछिल्लो दुई महिनाको अवधिमा कुल १ करोड २० लाख २३ हजार ६६१ रुपैयाँ बराबरको अवैध मालसामान बरामद गर्न सफल भएको जनाएको छ। प्राप्त विवरणअनुसार आषाढ महिनामा ५७ लाख ९१ हजार १७१ रुपैयाँ बराबरका अवैध सामान बरामद भएका थिए भने श्रावण महिनामा हालसम्म ६२ लाख ३२ हजार ४९० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएका छन्।
यस अभियानमा बि.ओ.पि. बरैनियाले सबैभन्दा प्रभावकारी भूमिका निर्वाह गरेको देखिएको छ। बरैनिया बीओपीले आषाढ महिनामा १६ लाख ७० हजार ७०० रुपैयाँ तथा श्रावण महिनामा हालसम्म ३१ लाख ७९ हजार ९१० रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ। यससँगै बरैनिया बीओपीको मात्रै दुई महिनाको कुल योगदान ४८ लाख ५० हजार ६१० रुपैयाँ पुगेको सशस्त्र प्रहरीको तथ्यांकले देखाएको छ।
सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा कपडा, किराना, इलेक्ट्रोनिक्स, खाद्यान्न, हार्डवेयर तथा अन्य विभिन्न प्रकारका भन्सार छलीका सामानहरू अवैध रूपमा नेपाल भित्र्याउने प्रयासलाई निरन्तर विफल पार्दै आएको जनाएको छ। तस्करी नियन्त्रणसँगै राज्यको राजस्व संरक्षण र सीमाक्षेत्रमा कानुनी व्यवस्था कायम गर्न अभियानलाई थप सशक्त बनाइएको सशस्त्र प्रहरीको भनाइ छ।
गणपति एसपी विशाल सिलवालले सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै तस्करीमा संलग्न जोसुकैमाथि कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेका छन्। उनले सीमावर्ती क्षेत्रमा चौबीसै घण्टा निगरानी, गस्ती र सूचनाको आधारमा विशेष अपरेशन सञ्चालन भइरहेकाले तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त भइरहेको बताए।
उता, बि.ओ.पि. बरैनियाका सशस्त्र प्रहरी निरीक्षक सन्तोष चौलागाईंको नेतृत्वमा भइरहेको सक्रिय परिचालनका कारण उक्त क्षेत्र तस्करहरूको प्रमुख मार्ग बन्द हुने अवस्थामा पुगेको स्थानीय स्रोतहरूको भनाइ छ। नियमित चेकजाँच, सूचनामूलक अपरेशन तथा सीमामा कडाइ गरिएकै कारण तस्करीका प्रयासहरू निरन्तर असफल हुँदै गएको जनाइएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराले आगामी दिनमा पनि सीमाक्षेत्रमा हुने तस्करी, भन्सार छली तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध अभियानलाई अझ प्रभावकारी बनाउँदै राज्यको राजस्व संरक्षण, सीमा सुरक्षा र कानुन कार्यान्वयनलाई थप सुदृढ बनाइने जनाएको छ।
