बारा, साउन १९ । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै ठूलो सफलता हासिल गरेको छ। गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विशाल सिलवालको नेतृत्वमा सञ्चालन भइरहेको तस्करी नियन्त्रण अभियान अन्तर्गत बि.ओ.पि. बरैनियाले साउन महिनामै करिब ३२ लाखको अवैध सामान बरामद गरेको छ।
बरैनियाका सशस्त्र प्रहरी निरीक्षक सन्तोष चौलागाईंको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छलि नेपाल भित्र्याइँदै गरेको करिब ३२ लाख रुपैयाँ बराबरको अवैध मालसामान बरामद गरी सम्बन्धित भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार मिति २०८३ साउन १९ गते बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–४, खुदियाटोला सीमा क्षेत्रमा विशेष सूचनाको आधारमा परिचालित टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको सामान नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीको उपस्थिती देख्नासाथ सामान ओसारपसारमा संलग्न व्यक्तिहरू सामान छाडेर भारतीय सीमातर्फ फरार भएका थिए।

बरामद गरिएको सामानमध्ये करिब रु. ५ लाख ८९ हजार बराबरका ७७९ थान लेडिज टप्स र ७६ थान लेडिज कुर्ता रहेका छन्। त्यस्तै करिब रु. ३० हजार ९१० बराबरका पेय पदार्थ, किराना सामग्री तथा औषधि समेत बरामद भएको छ। यसरी उक्त कारबाहीबाट कुल रु. ६ लाख १९ हजार ९१० बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार बि.ओ.पि. बरैनियाले चालु साउन महिनामा मात्रै यसअघि रु. २५ लाख ६० हजार बराबरका विभिन्न प्रकारका भन्सार छलिका सामान बरामद गरिसकेको थियो। पछिल्लो कारबाहीसँगै साउन महिनाको हालसम्म बरामद सामानको कुल मूल्य करिब रु. ३१ लाख ७९ हजार पुगेको छ। ती सबै सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा दाखिला गरिएको जनाइएको छ।
सीमा क्षेत्रबाट हुने अवैध आयात, राजस्व चुहावट तथा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पछिल्लो समय निगरानी थप कडा बनाएको छ। विशेष गरी खुला सीमाको दुरुपयोग गर्दै कपडा, औषधि, किराना, पेय पदार्थलगायतका सामग्री भन्सार छलि नेपाल भित्र्याउने गतिविधिविरुद्ध निरन्तर अपरेशन सञ्चालन भइरहेका छन्।
गणपति एसपी विशाल सिलवालको नेतृत्वमा नं. १२ गण बाराले सीमा क्षेत्रमा सूचना संकलन, गस्ती, चेकजाँच तथा आकस्मिक निगरानीलाई थप प्रभावकारी बनाएको छ। त्यसकै परिणामस्वरूप पछिल्ला दिनहरूमा तस्करी नियन्त्रणका घटनामा उल्लेखनीय सफलता हासिल हुँदै गएको सुरक्षा अधिकारीहरूको भनाइ छ।
सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रका नागरिकलाई पनि तस्करी तथा भन्सार छलिका गतिविधिमा संलग्न नहुन आग्रह गर्दै यस्ता गैरकानुनी कार्यबारे जानकारी भए नजिकको सुरक्षा निकायलाई सूचना दिन अनुरोध गरेको छ। साथै, राजस्व चुहावट रोक्न, सीमाको सुरक्षा सुदृढ बनाउन र कानुनी शासन कायम गर्न यस्ता अभियानलाई अझ सशक्त रूपमा निरन्तरता दिइने सशस्त्र प्रहरीले जनाएको छ।
