वीरगञ्ज, साउन १९ । पर्सा प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएका अन्दाजी रु. ११ लाख २० हजार बराबरका १४ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा सञ्चालन गरिएको निगरानी तथा चेकजाँचका क्रममा भन्सार प्रक्रिया पूरा नगरी अवैध रूपमा नेपाल भित्र्याइएका ती स्कुटरहरू बरामद गरिएको हो।
बरामद गरिएका १४ वटा भारतीय इलेक्ट्रिक स्कुटरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा भन्सार छली, तस्करी तथा अवैध आयात–निर्यात नियन्त्रण अभियानलाई पर्सा प्रहरीले निरन्तर तीव्रता दिएको जनाएको छ। प्रहरीले यस्ता गैरकानुनी गतिविधिविरुद्ध सूचना संकलन, निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
