पथलैयामा दुई दिनदेखि बेवारिसे अवस्थामा रहेको बोलेरो गाडी फेला, सवारीधनीलाई सम्पर्कमा आउन बारा प्रहरीको आग्रह

समाचार

बारा, साउन २१ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित धर्मेश्वर मन्दिर अगाडि दुई दिनदेखि बेवारिसे अवस्थामा रहेको एउटा बोलेरो गाडी फेला परेको छ।

स्थानीय वडा सदस्य राकेश सुब्बाले साउन २० गते बिहान करिब ११ बजे टेलिफोनमार्फत प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी पथलैयाबाट प्रहरी सहायक निरीक्षक धर्मबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार बा १४ च ८९२५ नम्बरको खाली बोलेरो गाडी मन्दिर अगाडि बेवारिसे अवस्थामा पार्क गरिएको भेटिएको हो। उक्त गाडीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी चौकी पथलैयामा ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ। घटनास्थल प्रहरी चौकी पथलैयाबाट करिब एक किलोमिटर पूर्व–दक्षिण दिशामा रहेको छ।

बारा प्रहरीले उक्त सवारीसाधनका धनी वा सम्बन्धित व्यक्तिलाई यथाशीघ्र प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको छ। साथै, गाडी सम्बन्धी जानकारी हुने जो–कोहीलाई पनि नजिकको प्रहरी कार्यालयमा सूचना उपलब्ध गराइदिन अनुरोध गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *