पर्सामा सशस्त्र प्रहरीको कारबाही : रु.९ लाख २६ हजारभन्दा बढीका अवैध सामानसहित घोडागाडा बरामद

समाचार

वीरगञ्ज, २४ साउन ।
सशस्त्र प्रहरी बल, नेपालले पर्साका विभिन्न सीमा क्षेत्रमा भन्सार छली गरी ओसारपसार गरिएका रु.९ लाख २६ हजार १ सय ८० बराबरका अवैध सामान तथा घोडासहितको टाङ्गा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको कमान्डमा खटिएको टोली तथा बीओपी प्रसौनीभाठाबाट परिचालित विभिन्न टोलीले वीरगञ्ज महानगरपालिका–१६ इनरुवा, भन्सार मेनगेटलगायतका सीमा क्षेत्रमा चेकजाँच तथा गस्ती गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको हो।

सशस्त्र प्रहरीले दिएको विवरणअनुसार इनरुवा सीमा क्षेत्रबाट रु.६ लाख ३७ हजार ५ सय बराबरका कपडा तथा साइकल, इनरुवा पछाडिको सीमा क्षेत्रबाट रु.१ लाख ५६ हजार ४ सय बराबरका कपडा बरामद गरिएको छ।

त्यस्तै, भन्सार मेनगेट क्षेत्रबाट रु.९६ हजार ५ सय ८० बराबरका इलेक्ट्रिक तथा कस्मेटिक सामान, रु.२० हजार बराबरको घोडासहितको टाङ्गा, इनरुवा सीमा क्षेत्रबाट रु.७ हजार ७ सय बराबरका स्याउ तथा सुन्तला र प्रसौनीभाठा सीमा क्षेत्रबाट रु.८ हजार बराबरका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका सम्पूर्ण सामान तथा घोडासहितको टाङ्गालाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले उक्त जानकारी दिएका हुन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *