बारा, २४ साउन।
बारा प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै जितपुरबाट १ किलो ७४४ ग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला बारा, जितपुरसिमरा उपमहानगरपालिका–७ शान्ति टोलस्थित एक घरमा लागूऔषध लुकाइराखिएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीका अनुसार प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको टोलीले स्थानीय ४२ वर्षीय वीरेन्द्र बैठालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनको घरबाट ७० पुडिया (३८६ ग्राम) तथा कालो प्लास्टिकमा प्याक गरी राखिएको १ किलो ३५० ग्राम, गरी जम्मा १ किलो ७४४ ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।
पक्राउ परेका बैठालाई बरामद पदार्थसहित इलाका प्रहरी कार्यालय जितपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको तथा लागूऔषध कारोबारसँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धानपछि आवश्यक कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।
जितपुर प्रहरीले पछिल्लो समय लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणलाई प्राथमिकतामा राख्दै निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।
