विराटनगर ,८ भदौ । मोरङको विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि फेला परेको नवजात शिशुको प्रहरीले सकुशल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको छ।
करिब २–३ दिनको जस्तो देखिने नवजात शिशु छोरा मालपोत कार्यालय अगाडि फेला परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शिशुको उद्धार गरेको हो।
प्रहरीले शिशुलाई तत्काल उपचारका लागि कोशी अस्पताल, विराटनगर पुर्याएको जनाएको छ। हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालमा उपचार तथा आवश्यक निगरानी भइरहेको छ।
शिशुलाई उक्त स्थानमा कसले, कहिले र किन छाडेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।
नवजात शिशु खुला स्थानमा फेला परेको घटनाले बालबालिकाको सुरक्षा तथा संरक्षणप्रति थप संवेदनशील बन्नुपर्ने आवश्यकता देखाएको छ।
