क्यासिनो छापामारी प्रकरणमा आफ्नो नाम जोडेर गलत प्रचार गरिएको भन्दै छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमारको स्पष्टोक्ति

समाचार

वीरगञ्ज,२१ भदौ  । पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमारले वीरगञ्जस्थित एक क्यासिनोमा प्रहरीले गरेको छापामारीसँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा गलत तथा भ्रामक समाचार सम्प्रेषण गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

अध्यक्ष कुमारले सामाजिक सञ्जालमार्फत आफू कुनै पनि क्यासिनोमा पक्राउ नपरेको तथा प्रहरीको छापामारीका क्रममा आफू पक्राउ परेको भन्ने प्रचार पूर्ण रूपमा गलत र भ्रामक भएको स्पष्ट पारेका छन्।

उनले सत्यतथ्य नबुझी वा प्रमाणबिना आफ्नो नाम जोडेर समाचार तथा सूचना सम्प्रेषण नगर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन्। गलत सूचनाका कारण व्यक्तिको सामाजिक प्रतिष्ठामा अनावश्यक असर पर्न सक्ने भन्दै उनले सूचना सम्प्रेषण गर्दा तथ्य र प्रमाणको यथोचित परीक्षण गर्नसमेत अनुरोध गरेका छन्।

अध्यक्ष कुमारले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सन्देशमा भनेका छन्, “सत्य तथ्य बुझेर मात्र सूचना सम्प्रेषण गरौँ।”

क्यासिनो छापामारीसँग सम्बन्धित घटनामा आफ्नो नाम जोडेर फैलाइएको भ्रमप्रति स्पष्ट पार्दै उनले जिम्मेवार पत्रकारिता तथा तथ्यमा आधारित सूचना प्रवाहको आवश्यकता औँल्याएका छन्।

शनिबार राति पर्सा प्रहरीले चलाएको विशेष अप्रेसनका क्रममा गण्डकस्थित क्लार्क रिसोर्ट होटलको क्यासिनोबाट  आठ जनालाई नियन्त्रणमा लिइएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *