बारामा १५१ किलो गाँजा बरामद, तस्कर समूह फरार

समाचार

बारा,२१ भदौ  । पचरौता नगरपालिका–७ स्थित बेनौली क्षेत्रमा प्रहरीले १५१ किलो लागूऔषध गाँजा बरामद गरेको छ।

मिति २०८३ भदौ २० गते राति करिब १०ः३० बजे प्रहरी चौकी श्रीनगर बैरिया, बाराबाट प्रहरी सहायक निरीक्षक राजेश सिंहको नेतृत्वमा खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल, नेपाल BOP बेनौलीबाट सशस्त्र प्रहरी नायब निरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा खटिएको संयुक्त टोलीले एम्बुस थापी निगरानी गरिरहेको थियो।

सो क्रममा बेनौली चोकदेखि करिब ३०० मिटर पूर्व धान खेतको आलीको बाटो हुँदै ८/९ जना अपरिचित व्यक्तिहरूले पिठ्युँमा झोला आकारमा गाँजा बोकेर आउँदै गरेको देखिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा ती व्यक्तिहरूले प्रहरीलाई देखेर गाँजाका पोका धान खेतमा फाली फरार भएका थिए।

प्रहरीले खेतमा फालिएका पोका नियन्त्रणमा लिएर तौल गर्दा प्रति पोका करिब १६.७७ किलोका दरले ९ वटा पोकामा जुटको बोरासहित कुल १५१ किलो लागूऔषध गाँजा बरामद भएको जनाएको छ।

बरामद गाँजा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा ल्याइएको छ। गाँजा फालेर फरार भएका व्यक्तिहरूको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *