बैजुरा पुलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

समाचार

बारा,२० भदौ  । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ बैजुरा पुलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो करिब १२ः०१ बजे पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना.१ अ.यो. १३४ नम्बरको खाली टिपरले पिलुवाबाट पथलैयातर्फ आउँदै गरेको प्रदेश २–०३–०२२ प ९६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक जितपुरसिमरा उपमहानगरपालिका–१६ डुमरवाना निवासी ५२ वर्षीय देवबहादुर चौरेल गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका चौरेललाई तत्काल उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको थियो। अस्पतालमा ईसीजी परीक्षणपछि चिकित्सकले दिउँसो १२ः५० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतकको शव बयोधा अस्पतालमै राखिएको छ।
दुर्घटनापछि घटनास्थलमा प्रहरी चौकी पथलैया, इलाका प्रहरी कार्यालय सिमरा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढबाट प्रहरी टोली खटिएको थियो। दुर्घटनामा संलग्न टिपर र मोटरसाइकल इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेका छन्। दुर्घटनाका कारण सडक अवरुद्ध भने भएको छैन।

यसअघि फरार रहेका टिपर चालकको खोजतलास भइरहेकोमा दिउँसो २ः२० बजे टिपर चालक प्रसौनी गाउँपालिका–१, प्रसौनी निवासी करिब ५८ वर्षीय धुर्वदेव हजरालाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *