पर्सामा सशस्त्र प्रहरीको कारबाही : १७ लाख ५६ हजारभन्दा बढीको कपडा र मोबाइल पार्ट्स बरामद

समाचार

वीरगञ्ज ,२ असोज । पर्सामा सशस्त्र प्रहरी बल, नेपालले भन्सार छली गरी नेपाल भित्र्याइएको आशंका गरिएका १७ लाख ५६ हजार ९९० रुपैयाँ बराबरका कपडा तथा मोबाइल पार्ट्स बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार २०८३ असोज २ गते विशेष सूचनाका आधारमा खटिएको टोलीले पकाहाँमैनपुर गाउँपालिका–५, सबैठवा स्थित गाईभैंसीको भुसा राख्ने गोठमा अवैध रूपमा लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न किसिमका कपडा फेला पारेको हो।

सीमा सुरक्षा गुल्म लहावरथकरीबाट खटिएको टोलीले बरामद गरेको कपडाको मूल्य १० लाख ५८ हजार ५४० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद कपडा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।

यसैगरी, सोही दिन दिउँसो ३ः४० बजे वीरगञ्ज महानगरपालिका–१, नैकाटोलामा पनि सशस्त्र प्रहरीले ६ लाख ९८ हजार ४५० रुपैयाँ बराबरका मोबाइल पार्ट्स बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार भारतबाट भन्सार छली गरी दुई जना व्यक्तिले टाउकोमा बोकेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बीओपी सिर्सियाबाट खटिएको पाँच जनाको गाडी मोबाइल टोलीलाई देखेपछि उनीहरूले मोबाइल पार्ट्स छाडेर फरार भएका थिए।

बरामद मोबाइल पार्ट्सलाई आवश्यक कारबाहीका लागि सोही दिन बेलुका ४ः४० बजे वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाश चन्द्र भट्टले जानकारी दिएका छन्।

पर्सामा पछिल्लो समय सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने भन्सार छली तथा चोरी–पैठारी नियन्त्रणका लागि निगरानी र कारबाहीलाई तीव्रता दिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *