गाँजासहित पर्सामा ३ जना पक्राउ, भाग्न खोजेपछि प्रहरीले हवाई फायर गर्‍यो

समाचार

बिरगंज ,५ असोज ।पर्सामा लागूऔषध गाँजाको ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले बुधबार राति करिब १० बजे पटेर्वासुगौली गाउँपालिका–१, मलाही टोलमा गाँजा ओसारपसार भइरहेको अवस्थामा छापा मारेको हो।

प्रहरी टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भाग्न खोजेका थिए। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट ३० किलो लागूऔषध गाँजा बरामद गर्दै प्रहरीले पटेर्वासुगौली गाउँपालिका–१ का ५० वर्षीय महेश सहनी र ३४ वर्षीय नन्दलाल सहनीलाई नियन्त्रणमा लिएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा सोही स्थानका ७५ वर्षीय ‘भुटी’ भन्ने भुरी चौधरी समेत गाँजा ओसारपसारमा संलग्न रहेको खुलेपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

नियन्त्रणमा लिइएका तीनै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *