खेलमा मिलेमतो र ठगीको आरोपमा ANFA का कोषाध्यक्षसहित दुई जना पक्राउ

समाचार

काठमाडौं, ४ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खेलमा मिलेमतो तथा अनियमितता र ठगीसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्षसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३, पुल्चोकका ६० वर्षीय रविन्द्र जोशी र ललितपुर महानगरपालिका–५, लगनखेल, थसीखेलका ५५ वर्षीय सन्जीब पाण्डे रहेका छन्। जोशी एन्फा, सातदोबाटोमा कोषाध्यक्षका रूपमा कार्यरत छन् भने पाण्डे लेखा अधिकृतका रूपमा कार्यरत रहेको सीआईबीले जनाएको छ।

सीआईबीका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप), प्रधान कार्यालय, त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन/जाहेरीका आधारमा नेपाल सरकार वादी र रविन्द्र जोशीसमेत प्रतिवादी रहेको खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने र ठगीसम्बन्धी कसुर को अनुसन्धान भइरहेको छ।

सोही अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई २०८३ असोज ४ गते ललितपुर जिल्ला अदालतबाट पहिलो पटक चार दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा. ले अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *