भैरहवा,४ असोज । रुपन्देही प्रहरीले नक्कली ब्लुबुक तयार गरी चोरीका मोटरसाइकल बेचबिखन गर्ने गरेको आरोपमा एक व्यक्तिलाई लोडेड पेस्तोलसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका–२ का अन्दाजी ४४ वर्षीय अजय चौधरी रहेका छन्।
चोरीका मोटरसाइकलको नक्कली ब्लुबुक बनाई बिक्री गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले चौधरीलाई सिद्धार्थनगर नगरपालिका–७, विद्यापथबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार चौधरीको शरीर तथा साथमा रहेको सामान चेकजाँच गर्दा टाइप–५४ पेस्तोलजस्तो देखिने १ थान पेस्तोल र त्यसमा लोड गरिएको ४ राउण्ड गोली फेला परेको थियो। साथै, एउटै फोटो प्रयोग गरिएका २ वटा ब्लुबुक र ४ वटा भारतीय आधार कार्ड समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पेस्तोल तथा गोलीसहित पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट नक्कली कागजात प्रयोग गरी चोरीका मोटरसाइकलको कारोबार गर्ने गतिविधिसँग उनको संलग्नताबारे अनुसन्धान भइरहेको छ।
