बारा, असोज ४ । जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रकाश कुमार खत्रीलाई २०८३ भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषणा गरेको छ।
‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३’ बमोजिम जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले वरिष्ठ सई खत्रीलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय बारा, तालिम शाखामा दरबन्दी रहेका खत्री हाल इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बारामा कार्यरत छन्। कार्यसम्पादन, जिम्मेवारीप्रतिको प्रतिबद्धता तथा प्रहरी सेवामा पुर्याएको योगदानका आधारमा उनलाई महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
उत्कृष्ट प्रहरी घोषित खत्रीलाई एसपी कुँवरले प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना दिएका छन्।
प्रहरी कर्मचारीको कार्यसम्पादनलाई प्रोत्साहन गर्दै उत्कृष्ट कार्य गर्ने प्रहरीलाई सम्मान गर्ने उद्देश्यले ‘महिनाको उत्कृष्ट प्रहरी’ छनोट तथा सम्मान कार्यक्रम सञ्चालन हुँदै आएको छ।
