वीरगञ्ज,११ असोज । पर्साको धोबिनी गाउँपालिकामा चोरी–डाँकाका क्रममा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धोबिनी गाउँपालिका–५ का करिब १८ वर्षीय चन्दनकुमार पटेल, सोही ठाउँका १८ वर्षीय रामु पासवान र १८ वर्षीय घलथरिया भन्ने राजकपुर बैठा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले २०८३ असोज ५ गते राति करिब ११ः३० बजे राजकपुर बैठाको घरमा गाँजा सेवन गरी मृतक लखरजिया देवीको घरमा चोरी गर्ने योजना बनाएका थिए। योजनाअनुसार उनीहरू राति करिब २ः३० बजे लखरजिया देवीको पक्की घरको पछाडिको पर्खालबाट घरमाथि चढी माथिल्लो तलाको झ्यालबाट घरभित्र प्रवेश गरेका थिए।
घरभित्र प्रवेश गरेपछि उनीहरूले स्टिलको दराज तोडेर त्यसमा राखिएको नगद तथा गरगहना चोरी गरेको र अर्को कोठामा रहेको टिनको बाकसको ताल्चासमेत फुटाउँदै गर्दा तल्लो तलामा सुतिरहेकी लखरजिया देवीले आवाज सुनेकी थिइन्।
तोडफोडको आवाज आएपछि माथिल्लो तलामा पुगेकी लखरजिया देवीले तीनै जनालाई देखेपछि उनीहरूले उनको कर्तव्य गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। त्यसपछि उनीहरूले घरमा रहेको नगद तथा गरगहना समेत लिएर फरार भएको प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान गर्दै गएको पर्सा प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनीहरूविरुद्ध कर्तव्य ज्यान कसूर मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले घटनामा चोरी तथा डाँकासहित ज्यानसम्बन्धी गम्भीर कसूर भएको भन्दै घटनामा संलग्न व्यक्तिहरूको थप भूमिका र चोरी भएको नगद तथा गरगहनाबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।
