वीरगञ्ज,२८ असोज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण अभियानलाई तीव्रता दिँदै १४ लाख २५ हजार ५०० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार २०८३ असोज २८ गते जिल्लाका विभिन्न सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी टोलीले लुकाइछिपाइ राखिएका तथा भन्सार छली नेपाल भित्र्याइएका सामान बरामद गरेका हुन्।
अभियानअन्तर्गत वीरगञ्ज महानगरपालिका–२५, खल्वा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) ड्राईपोर्टबाट खटिएको टोलीले धान खेतमा लुकाइछिपाइ राखिएको मानिसले प्रयोग गर्ने विभिन्न प्रकारका औषधि बरामद गरेको छ। बरामद औषधिको मूल्य १३ लाख ४५ हजार ५०० रुपैयाँ रहेको जनाइएको छ। उक्त औषधि आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
त्यसैगरी, सोही दिन पर्साको छिपहरमाई गाउँपालिका–५, भिस्वास्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बीओपी भिस्वाबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ८० हजार रुपैयाँ बराबरका जुत्ता, चप्पल तथा प्लास्टिकका खेलौना बरामद गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा हुने अवैध आयात, भन्सार छली तथा तस्करी नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई प्रभावकारी बनाउँदै आएको छ। बरामद गरिएका दुवै खेपका सामानको कुल मूल्य १४ लाख २५ हजार ५०० रुपैयाँ रहेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) सुरज क्षेत्रीले उक्त जानकारी दिएका हुन्।
