जन्मजात गम्भीर रोगसहित शिशुको जन्म, थप उपचारका लागि कान्ति बाल अस्पताल काठमाडौं रेफर: नारायणी अस्पताल 

समाचार

वीरगञ्ज ,२४ कार्तिक । बारा निवासी २० वर्षीया एक महिलाले जन्म दिएको नवजात शिशुमा जन्मजात गम्भीर समस्या देखिएपछि थप उपचारका लागि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा प्रेषण गरिएको छ।

नारायणी अस्पताल प्रशासनले २०८३ कार्तिक २४ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार बारा जिल्लाको इटियाही–०५ निवासी २० वर्षीया गुडी कुमारीलाई गत कार्तिक २२ गते साँझ ६:२८ बजे सुत्केरी व्यथा लागेपछि अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भएपछि सोही दिन राति ११:३८ बजे शल्यक्रिया (LSCS) मार्फत उहाँले ३ किलोग्राम तौल भएको छोरालाई जन्म दिनुभएको थियो।

शिशु जन्मिएलगत्तै स्वास्थ्य परीक्षण गर्ने क्रममा पेटसम्बन्धी गम्भीर जन्मजात समस्या ‘ग्यास्ट्रोस्चिसिस’ (Gastroschisis) देखिएको अस्पतालले जनाएको छ। उक्त समस्यामा नवजात शिशुको आन्द्रा पेटको भित्ताबाहिर निस्किएको हुन्छ। यस्तो अवस्थाका शिशुलाई तत्काल विशेष नवजात शिशु सघन उपचार कक्ष (NICU) तथा बाल शल्यचिकित्सकको विशेषज्ञ सेवा आवश्यक पर्ने चिकित्सकीय अवस्था रहेको अस्पतालले स्पष्ट पारेको छ।

नारायणी अस्पतालमा उक्त जटिल समस्याको उच्चस्तरीय शल्यक्रियात्मक उपचार सम्भव नभएकाले शिशुलाई थप उपचारका लागि अन्यत्र प्रेषण गर्ने निर्णय गरिएको थियो। प्रारम्भिक रूपमा नेसनल मेडिकल कलेज पुर्‍याइए पनि पुनः नारायणी अस्पतालमै ल्याइएको अस्पताल प्रशासनले विज्ञप्तिमा उल्लेख गरेको छ।

त्यसपछि अस्पतालका स्वास्थ्यकर्मीले शिशुको आवश्यक प्राथमिक उपचार तथा व्यवस्थापन गरी स्वास्थ्य अवस्था स्थिर (Stabilize) बनाएपछि थप जटिल उपचार र विशेषज्ञ शल्यक्रियाका लागि मिति २०८३ कार्तिक २३ गते दिउँसो १ बजे काठमाडौंस्थित कान्ति बाल अस्पतालमा रेफर गरिएको हो।

अस्पताल प्रशासनले नवजात शिशुको सफल उपचार तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जन्मजात जटिल स्वास्थ्य समस्याको समयमै पहिचान, प्राथमिक व्यवस्थापन र आवश्यकताअनुसार विशेषज्ञ अस्पतालमा प्रेषण गर्ने कार्यमा आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।

जन्मजात जटिल स्वास्थ्य समस्या देखिएका नवजात शिशुको जीवन रक्षाका लागि समयमै विशेषज्ञ उपचार तथा उचित व्यवस्थापन अत्यन्त महत्वपूर्ण मानिन्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *