वीरगञ्ज,२४ कार्तिक । पर्साको पोखरिया वितरण केन्द्रअन्तर्गतका सम्पूर्ण क्षेत्रमा बुधबार बिहान एक घण्टाका लागि विद्युत सेवा बन्द हुने भएको छ।
पोखरिया वितरण केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार मिति २०८३ साल कात्तिक २५ गते बुधबार बिहान ७ बजेदेखि ८ बजेसम्म विद्युत सेवा अवरुद्ध रहनेछ।
वितरण केन्द्रअन्तर्गत पर्ने ३३ के.भी. प्रसारण लाइनमा बुश कटिङ (रूखका हाँगा तथा अवरोध हटाउने कार्य) गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको जनाइएको छ।
उक्त कार्यलाई सुरक्षित तथा व्यवस्थित रूपमा सम्पन्न गर्न निर्धारित समयका लागि वितरण केन्द्रअन्तर्गतका सम्पूर्ण क्षेत्रमा विद्युत सेवा बन्द रहने पोखरिया वितरण केन्द्रले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएको हो।
विद्युत सेवा अवरुद्ध हुने समयमा सर्वसाधारण, उद्योगी, व्यवसायी तथा अन्य विद्युत उपभोक्तालाई आवश्यक पूर्वतयारी गर्न केन्द्रले अनुरोध गरेको छ।
निर्धारित समयमै मर्मत तथा व्यवस्थापनको काम सम्पन्न गरी विद्युत सेवा पुनः नियमित गरिने अपेक्षा गरिएको छ। यसबाट उपभोक्तामा पर्न जाने असुविधाप्रति पोखरिया वितरण केन्द्रले क्षमायाचना समेत गरेको छ।
