हनुमान राउत अहिर प्रहरी जवानदेखि इन्स्पेक्टरसम्म, वीरगञ्जमा दर्ज्यानी चिन्हद्वारा सु-शोभित

समाचार

(प्रहरी सेवामा ३० वर्षको यात्रापछि प्रहरी निरीक्षकमा पदोन्नति, जन्मथलो बलुवामा खुसी र गर्व)

वीरगञ्ज, मंसिर ९

बाराको महागढीमाई नगरपालिका–९ बलुवा निवासी हनुमान राउत अहिर नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवा भएका छन्। प्रहरी जवानबाट सेवा प्रारम्भ गरी निरन्तर मेहनत, अनुशासन, इमानदारी र सेवाप्रतिको समर्पणका साथ प्रहरी निरीक्षक पदसम्म पुग्न सफल अहिरको पदोन्नतिले उनको जन्मथलो बलुवासहित स्थानीय क्षेत्रमा खुसी र गौरवको माहोल सिर्जना गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८३ कात्तिक १२ गतेको निर्णयबाट जनपद प्रहरी समूहतर्फ प्रहरी नायव निरीक्षक (सई) पदमा कार्यरत हनुमान राउत अहिरलाई प्रहरी निरीक्षक पदमा बढुवा गरिएको हो। उक्त बढुवा मंसिर ७ गतेदेखि लागू हुने गरी प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम १२९ को उपनियम (२) तथा (२क) को देहाय (ख) बमोजिम गरिएको हो।

बढुवा भएका अहिरलाई नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगञ्ज, पर्सामा आयोजित दर्ज्यानी चिन्ह सु-शोभन समारोहमा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले प्रहरी निरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। प्रमुख अतिथिको उपस्थितिमा सम्पन्न उक्त समारोहमा बढुवासँगै अहिरलाई नयाँ जिम्मेवारी र पदअनुसारको सम्मान प्रदान गरिएको थियो।

अहिरले २०५३ साल चैत २५ गते प्रहरी जवान पदबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए। प्रहरी सेवामा प्रवेश गरेदेखि नै निरन्तर लगनशीलता, कर्तव्यनिष्ठा र जिम्मेवारीबोधका साथ कार्य गर्दै उनले करिब तीन दशक लामो सेवायात्रामा विभिन्न जिम्मेवारी निर्वाह गर्दै प्रहरी निरीक्षक पदसम्मको यात्रा तय गरेका हुन्।

प्रहरी सेवाका क्रममा उनले अपराध अनुसन्धान, मुद्दा शाखा तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत रहेर महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन्। कानुन विषयमा स्नातक गरेका अहिरले अनुसन्धान, कानुनी प्रक्रिया तथा प्रहरी कार्यसम्पादनका क्षेत्रमा आफ्नो अनुभव र दक्षतालाई थप सुदृढ बनाउँदै आएका छन्।

स्वच्छ छवि, इमानदार कार्यशैली, अनुशासन र जिम्मेवारीप्रतिको निष्ठाका लागि परिचित अहिरको पदोन्नति केवल व्यक्तिगत उपलब्धि मात्र नभई लामो समयसम्म प्रहरी सेवामा समर्पित भएर काम गर्ने कर्मचारीका लागि प्रेरणादायी उपलब्धिका रूपमा समेत लिइएको छ।

प्रहरी जवानबाट सेवा सुरु गरी विभिन्न तह र जिम्मेवारी पार गर्दै प्रहरी निरीक्षकसम्म पुग्न सफल उनको उपलब्धिप्रति बलुवा क्षेत्रका स्थानीयवासी, आफन्त तथा शुभेच्छुकहरूले गर्व व्यक्त गरेका छन्। उनको सफलताले स्थानीय क्षेत्रको प्रतिष्ठा थप उँचो बनाएको भन्दै शुभकामना तथा बधाई व्यक्त गर्ने क्रम जारी रहेको छ।

स्थानीयवासी तथा शुभेच्छुकहरूले प्रहरी निरीक्षक हनुमान राउत अहिरको आगामी कार्यकाल सफल, उत्कृष्ट र जनमैत्री रहोस् तथा राष्ट्र, संगठन र नागरिकको सेवामा अझ प्रभावकारी योगदान पुर्‍याउन सकून् भन्ने कामना गरेका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *