महिला हिंसामुक्त समाजका लागि साझा संकल्प, १६ दिने अभियान सुरू

समाचार

काठमाडौँ, ९ मंसिर ।  आज नोभेम्बर २५  विश्वभर ‘अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस’ विभिन्न सचेतनामूलक कार्यक्रमसहित मनाइँदै छ।

 

महिला तथा बालिकामाथि हुने शारीरिक, मानसिक, यौनिक, आर्थिक तथा डिजिटल हिंसा अन्त्य गर्ने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। यस बर्ष “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने मुल नारा साथ याे दिवस मनाइदैँछ ।

 

यस दिवसको ऐतिहासिक जग सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तानाशाहविरुद्ध आवाज उठाउने मिराबल दिदीबहिनीहरू पेट्रिया, मिनर्भा र मारिया टेरेसाको हत्यासँग जोडिएको छ। तिनै साहसी दिदीबहिनीको सम्झना र सम्मानमा सुरु भएको यो अभियानलाई सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय दिवसका रूपमा मान्यता दिएको हो।

 

नोभेम्बर २५ बाट सुरु भई डिसेम्बर १० (अन्तर्राष्ट्रिय मानव अधिकार दिवस) सम्म सञ्चालन हुने ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ ले समाजका हरेक तहमा संवाद र सचेतना फैलाउने काम गर्दै आएको छ। हिंसामुक्त उज्ज्वल भविष्यको प्रतीकका रूपमा सुन्तला रङलाई विशेष प्राथमिकता दिँदै विश्वभर विभिन्न अभियान चलाइन्छन्।

 

नेपालमा पनि संविधान तथा घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ लगायतका कानुनी व्यवस्थाले महिलामाथिको हिंसालाई दण्डनीय मानेको छ। तर कानुनको प्रभावकारी कार्यान्वयन, पीडितलाई सहज न्याय र मनोसामाजिक सहयोग अझै चुनौतीपूर्ण देखिन्छ। घरपरिवार, कार्यस्थल र समाजका हरेक कुनामा सम्मानजनक व्यवहार स्थापित नभएसम्म हिंसाको चक्र तोड्न कठिन हुन्छ।

 

महिला हिंसा केवल महिलाको मात्र सरोकार होइन, यो समग्र मानव अधिकार, सामाजिक न्याय र दिगो विकाससँग जोडिएको विषय हो। त्यसैले नारालाई व्यवहारमा उतार्दै हिंसा विरुद्ध ‘शून्य सहनशीलता’ को संस्कार निर्माण गर्नु आजको मुख्य आवश्यकता हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *