काठमाडौं, २ मंसिर । स्याङ्जामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।
शनिबार दिउँसो वालिङ नगरपालिका–१ खहरेको भित्री सडकमा रामबाच्छाबाट खहरेतर्फ जाँदै गरेको लु १ ह ३६८६ नम्बरको अटोरिक्सा अनियन्त्रित भएर पल्टिँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारका ओमबहादुर लम्सालकी छोरी १६ महिनाकी कायरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
अटोरिक्सामा चालकसहित ४ जना रहेकामा अरुलाई केही नभएको र बालिका कायरा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी थिइन्। उनलाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिए।
दोलखा, शनिबार पुष्पलाल राजमार्ग (तामाकोसी–मन्थली सडक) को गोपिखोला नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक घाइते भएका छन्।
बागमती प्रदेश ०१००३ क ९३५९ नम्बरको ट्रकको ठक्करबाट बा २९ प ११६२ नम्बरको मोटर साइकलमा सवार दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर–१ भीरकोटका २२ वर्षीय सुशिल माझीको घट्ना स्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए।
दुर्घटनामा मोटर साइकलमा सवार अर्का युवक तामाकोसी–१ भीरकोटकै २२ बर्षिय माइकल माझी घाइते भएका छन्। माझीलाई चरिकोट स्थित पुशपति चौलागाई स्मृति अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ।
