डेढ किलोमिटर लामो झोलुङ्गे पुल उदघाटन गर्दै प्रधानमन्त्रीले भने, `मधेसको विकास नभई देशको बिकास हुन्न´

राजनीति समाचार

धनुषा, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने  बताएका छन् ।

उनले मधेसको विकास नभइकन देशको विकास नहुनेसमेत उल्लेख गरेका छन् ।

सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व बृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए

उनले भने, “अब सङ्घीयता सबल रुपमा कार्यान्वयन हुन्छ, केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ ।”

प्रधानमन्त्री प्रचण्डले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले संघीयतालाई सबल तुल्याउने विश्वाससमेत व्यक्त गरेेका छन् ।

नेपालको भूगोलअनुसार झोलुङ्गे पूलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा झोलुङ्गे पूलको निर्माणमा प्राथमिकता दिइँदै आएको बताए ।

निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्‍याएको बताउँदै उहाँले दुई जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्तसमेत गरेका छन् । प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्नेसमेत बताए ।

नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ  एक हजार पाँच सय दशमलव ४४ मिटर लामो पुल हो।

करिब रु २५ करोड ८० लाख र कार्यालयबाट उपलब्ध गराइएको तीन करोड ५ लाख रूपैयाँ बराबरको लठ्ठा र बुल्डग ग्रिप्सको लागतमा सम्पन्न भएको सो झोलुङ्गे पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेको छ ।

झोलुङ्गे पूलको चौडाई ४ फिट रहेकोले मानिस, चौपाया, साइकल र मोटरसाइकलले प्रयोग गर्न सक्ने भए पनि झोलुङ्गे पूलको आयु लम्ब्याउन मोटरसाइकल तार्दा कम गतिमा वा डोर्‍याएर तार्न र टेम्पो तार्नेजस्ता कार्य नगर्न सस्पेन्सन बृज डिभिजनले अनुरोध गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *