काठमाडौं ,२ जेठ । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ ।
जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।
गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । मंगलबार र बुधबारको बहसपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।
सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो:
क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई धेरै तवरबाट फसाइएको बताएका छन्। उच्च अदालत पाटनले सफाइ दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे १ वर्षदेखि विभिन्न तवरले फसाएको बताए।
‘सुरुदेखि म निर्दोष छु भनिरहेँ। साढे १ वर्षभन्दा माथि भयो, मलाई धेरै तरिकाले फसाइएको थियो। अपराधी करार गरिएको थियो। अन्त्यमा यहाँसम्म आइपुगेको छु,’ उनले भने।
उनले यसअघि जिल्ला अदालत काठमाडौंको फैसलालाई पनि सम्मान गरेको र उच्च अदालत पाटनको फैसलालाई पनि सम्मान गर्ने बताए।
सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा:

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।
क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन् ।
पाटन उच्च अदालतले आजै सन्दीपलाई बलात्कार मुद्धामा सफाई दिएको थियो ।
