बिरगंज, २७ असार ।
बिरगंज महानगरपालिका–१६ स्थित ईनर्वा बाइपास सडक खण्डमा तीव्र गतिमा आएको कारको ठक्करबाट एक १२ वर्षीय बालक गम्भीर रूपमा घाइते भएका छन्।
घाइते बालक शाह महमद मियाका छोरा मोहरम मिया रहेको पर्सा प्रहरीले जनाएको छ। भारतीय नम्बर प्लेट (BR 01FU 8647) भएको कारले ठक्कर दिँदा मोहरम मिया सख्त घाइते भई हाल नारायणी अस्पतालमा उपचाररत रहेका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार कार अत्यधिक गतिमा रहेको र ठक्कर दिएपछि भाग्ने प्रयास गरेको थियो। तर, घटनापछि भागिरहेको अवस्थामा सो कारलाई भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको स्थानीय महम्द सद्दामले बताएका छन् ।
हाल कार र चालक वडा प्रहरी कार्यालय बिर्ताको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको बिर्ता प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिए।
