रसीद आलम ,पर्सा, २७ असार ।
(सशस्त्र प्रहरीको कडा निगरानी : भन्सार छलीको साढे ९ लाख बराबरको सामान बरामद
एसपी धिमालको नेतृत्वमा पर्सामा तस्करीविरुद्ध प्रभावकारी कारबाही)
सशस्त्र प्रहरी बल, नेपालका पर्सा प्रमुख एसपी राधेश्याम धिमालको नेतृत्वमा सक्रिय तस्कर समूहविरुद्ध कडा निगरानी र कारबाही सुरु गरिएको छ। यसै क्रममा सशस्त्र प्रहरीले करिब ९ लाख ४७ हजार ६२५ रुपैयाँ बराबरको भन्सार छली गरिएका सामानहरू बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।
विशेष सूचनाको आधारमा २०८२ साल असार २७ गते सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु.गुल्म बीरगंजबाट डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा परिचालित टोली र बीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले बीरगंज महानगरपालिका–१० स्थित आदर्शनगरको टाउनहल रोडमा रहेको BKC इम्पेक्स नामक गोदाममा छापा मारेका थिए। छापाको क्रममा भारतबाट अवैध रूपमा ल्याई भण्डारण गरिएको रु. ६,५९,७०० बराबरको तयारी कपडा बरामद गरिएको हो। उक्त सामग्री आवश्यक कानुनी कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी, यही मितिमा सशस्त्र प्रहरी बल, नेपाल बिओपी सिर्सियाबाट खटिएको अर्को टोलीले बीरगंज म.न.पा.–१० अन्तर्गत आदर्शनगर र छप्कैयाबाट भारत हुँदै भन्सार छली गरि ल्याइएको रु. २,७९,१०५ बराबरको कपडा तथा किराना सामानहरू बरामद गरेको छ। ती सामानहरू पनि कानुनी प्रक्रिया अनुसार बीरगंज भन्सार कार्यालयमा बुझाइएको हो।
सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले उक्त जानकारी दिएका हुन्। उनले पर्सा क्षेत्रमा भन्सार छली तथा तस्करी रोक्न सशस्त्र प्रहरी बल उच्च सतर्कताका साथ खटिएको बताए।
सशस्त्र प्रहरी प्रमुख एसपी राधेश्याम धिमालले तस्करीविरुद्धको अभियानलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्। पछिल्लो समय वीरगंज–भारत सीमा क्षेत्रमा भन्सार छलीका गतिविधि बढिरहेका बेला सशस्त्रको यो कारबाहीले तस्करहरूमा त्रास सिर्जना भएको देखिएको छ।
निष्कर्ष:
सशस्त्र प्रहरी बलको तिब्र निगरानी र सकृयताले सीमा क्षेत्रबाट भित्र्याइने अवैध सामान नियन्त्रणमा ल्याउन उल्लेखनीय सफलता मिलिरहेको छ। पर्सामा एसपी धिमालको नेतृत्वमा भन्सार छली रोकथाम तथा सुरक्षामा देखिएको यो सक्रियता प्रशंसनीय रहेको छ।
