बिरगंज , १५ कार्तिक । सशस्त्र प्रहरी बलको विशेष टोलीले भारतबाट बिरगंजतर्फ आउँदै गरेका दुई भारतीय नागरिकलाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ।
प्रस्तावित सिमा सुरक्षा गुल्म, बिरगंजबाट खटिएको चेकप्वाइंट टोलीले विशेष सूचनाका आधारमा पर्सा जिल्ला, बिरगंज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटमा चेकजाँच गर्दा जिल्ला पूर्वी चम्पारणका सत्यम शर्मा (उमेर २५) र कैस अली (उमेर २४) को शरीरभित्र लुकाई राखेको १०० एम्पुल डाईजापाम (२ एमएल), १०० एम्पुल नोरफिन (२ एमएल) र १०० एम्पुल प्रोमेफाजिन (२ एमएल) बरामद गरेको हो।
पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।
