पोखरामा १५ लाख चोरी गरेर बुटवलको होटल पुगेका युवा-युवती पक्राउ

बिदेश राजनीति समाचार

काठमाडौं ,१५ माघ ।  मध्यराति पोखरा महानगरपालिका-८ सिर्जना चोकको साइमन पार्टी प्यालेसमा छिरेर रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका-१० घर भएका २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जा भीरकोट नगरपालिका-३ की २९ वर्षीया पूजा श्रेष्ठ रहेका छन्।

प्रहरीले उनीहरूलाई बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित होटलबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बताए।

साइमन पार्टी प्यालेसमा गत माघ ११ गते राति १ बजे १४ लाख ७४ हजार रुपैयाँ चोरी भएको थियो।

रकम चोरी भएपछि वडा प्रहरी कार्यालय बैदामको टोली अनुसन्धानमा जुटेको थियो। अनुसन्धान सिलसिलामा दुबैलाई माघ १३ गते पक्राउ गरिएको शर्माले बताए।

पोखरामा चोरीपछि उनीहरू भागेर रुपन्देहीको होटलमा बसेका थिए। होटलबाट चोरी भएको नगद १२ लाख ५२ हजार ५८० रुपैयाँ बरामद गरिएको शर्माले बताए।

‘चोरी भएको केही रकम उनीहरूले खर्च गरिसकेको देखिएको छ,’ शर्माले भने।

दुबैलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ६ दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *