डिएसपी शुभद्रा वाइबाको साहसिक कदम : समय नाघेर सञ्चालन भइरहेको महोत्सव बन्द गराउँदै माइकको लाइन काटिन्

समाचार

रसीद आलम

बारा ,४ जेठ । इलाका प्रहरी कार्यालय सिमराकी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) शुभद्रा वाइबाले बारा जिल्लामा सञ्चालन भइरहेको जितपुर–सिमरा व्यापार तथा सांस्कृतिक महोत्सवमा कानुन विपरीत समय नाघेर कार्यक्रम सञ्चालन भइरहेका बेला आफैँ स्टेजमा गएर माइक खोसी कार्यक्रम बन्द गराएकी छन्।

भोजपुरी गायक सुनील पण्डित आफ्नो प्रस्तुति दिइरहेका बेला डिएसपी वाइबा स्टेजमा चढिन्, माइक नियन्त्रणमा लिइन् र माइकको लाइन समेत काटिन्। उनले प्रशासनले तोकेको समय भन्दा धेरै ढिलोसम्म टिकट बिक्री गरी कार्यक्रम सञ्चालन गरिएको पाइएकोले यस्तो कदम चालिएको बताइन्।

बारा जिल्ला प्रशासन कार्यालयले उक्त महोत्सव बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको थियो। यद्यपि साँझको उज्यालो अवस्थालाई ध्यान दिँदै व्यवहारमा राति ८ बजेसम्म लचकता अपनाइएको थियो। तर आयोजकले अनुमति समय नमानि राति ९ बजेसम्म कार्यक्रम सञ्चालन गरेपछि भिडभाड, अव्यवस्था र सम्भावित झगडाको जोखिम देखेर प्रहरीले कार्यक्रम रोकिदिएको हो।

डिएसपी वाइबाले बताइन्, “कार्यक्रम अनुमति समय नाघिसकेको थियो, तर पनि टिकट बिक्री भइरहेकाले हामीले हस्तक्षेप गर्नुपर्‍यो। सार्वजनिक सुरक्षाका दृष्टिकोणले हामी बाध्य भयौं।”

उनको साहसिक निर्णय र कार्यशैलीको अहिले बारा जिल्लामा प्रशंसा भइरहेको छ। शान्ति सुरक्षा कायम गर्ने, नागरिकको गुनासो सुनुवाइ गर्ने र निष्पक्षताका साथ कार्य सम्पादन गर्ने डिएसपी वाइबा मधेस प्रदेशका आठ जिल्लामध्ये एक मात्र महिला कमाण्डरका रूपमा परिचित छन्। कम बोल्ने तर निर्णायक कार्यशैली भएकी वाइबा प्रहरी संगठनमा अब्बल र साहसी कमाण्डरका रूपमा स्थापित हुँदै गएकी छन्।

नागरिक समाज र बौद्धिक वर्गले डिएसपी वाइबाको यो कदमलाई कडाइका साथ कानुन कार्यान्वयनको उदाहरणीय कार्य भनेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *