राजस्व छली नियन्त्रण अभियानमा सशस्त्र प्रहरीको तीव्रता: हुण्डी कारोबारीसहित लाखौंको अवैध सामान बरामद

समाचार

रसीद आलम,वीरगञ्ज, १५ जेठ।
सशस्त्र प्रहरी बल नेपाल मधेस प्रदेशका प्रमुख डिआईजी कृष्ण ढकालले सिमानाका सुरक्षा व्यवस्थालाई कडाइ गर्दै राजस्व छली नियन्त्रण तथा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाएका छन्। उनले सिमावर्ती क्षेत्रमा भइरहेका अवैध गतिविधिहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्ने दृढता व्यक्त गर्दै पछिल्लो समय विभिन्न स्थानहरूमा छापामारी तथा निगरानी कार्यलाई सशक्त बनाएका छन्।

यसैक्रममा, जेठ १४ गते पर्साको वीरगञ्जमा हुण्डी कारोबारको आशंकामा सशस्त्र प्रहरीले एक व्यक्तिलाई ६ लाख नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३, बरैनिया निवासी करिब ४० वर्षीय वीरेन्द्र प्रसाद गुप्ता रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।

गुप्ता भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–१६ स्थित वीरगञ्ज भन्सार कार्यालयको चेकजाँच विन्दुभन्दा करिब ५० मिटर अगाडि त्रिभुवन राजपथमा मोटरसाइकल (नं. प्रदेश २–०३–००४ प ५६६४, एफजेड–एस भर्सन–३) मा सवार थिए। सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट डिएसपी लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको चेकप्वाइन्ट ड्युटी टोलीले चेकजाँच गर्ने क्रममा गुप्ताको शरीर तथा जुत्तामा लुकाइ छिपाइ ल्याइएको स्रोत नखुलेको नगद ६ लाख रुपैयाँ बरामद गरेको हो। साथै, उनले प्रयोग गरेको मोटरसाइकलको मूल्य पनि करिब २ लाख ५० हजार रुपैयाँ बराबर रहेको बताइएको छ।

पक्राउ परेका व्यक्ति, बरामद नगद तथा मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।

यसैबीच, डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा सशस्त्र प्रहरी टोलीले वीरगञ्ज–१० आदर्शनगरस्थित जय बजरंगबली ट्रान्सपोर्टमा छापा मारेर १२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका केही थान कपडा, चिनी, मरिच लगायतका अवैध सामानहरू बरामद गरेको छ।

यस्तै गरि अर्को कार्वाहीमा सशस्त्रले १२ बोरा चकलेट, २ बोरा मसला, लगायतका सामग्रीहरु नियन्त्रणमा लिएका छन्। यी सबै सामग्रीहरू अबैध रूपमा भण्डारण गरिएको अवस्थामा फेला परेको र आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

डिआईजी ढकालको नेतृत्वमा मधेस प्रदेशमा सशस्त्र प्रहरी बलले सिमानाकामा हुने तस्करी, हुण्डी कारोबार, अवैध समान ओसारपसार जस्ता क्रियाकलापहरूलाई नियन्त्रणमा लिन थप कडाइका साथ अभियान सञ्चालन गर्ने जनाएको छ।

सशस्त्र प्रहरीको यस अभियानलाई स्थानीयवासी तथा सरोकारवालाहरूले प्रशंसा गर्दै निरन्तरता दिन आग्रह गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *