सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिकोत्सवको अवसरमा पर्सामा विविध सामाजिक कार्यक्रम सम्पन्न

समाचार

पर्सा, असार १६ – सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिकोत्सवको अवसरमा मधेश प्रदेशस्तरीय विभिन्न सामाजिक एवं मानवसेवामूलक कार्यक्रमहरू सम्पन्न भएका छन्। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साको संयोजनमा आयोजित यी कार्यक्रमहरूले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

असार १५ गते वीरगञ्ज महानगरपालिका–१४ स्थित ऐतिहासिक पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरियो। कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघ, मधेश प्रदेशका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। मन्दिर परिसर सफा गरी वातावरणीय स्वच्छता कायम गर्न खोजिएको यस अभियानमा स्थानीय बासिन्दाहरूले समेत साथ दिएका थिए।

यसै अवसरमा, २०८२ साल असार १६ गते सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गणको परिसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो। जिल्ला रेडक्रस सोसाइटी पर्सासँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ४० जना स्वयंसेवकहरूले रक्तदान गरेको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए।

रक्तदान कार्यक्रममा प्रमुख अतिथि तथा गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जिल्ला रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, प्रभु अस्पताल बीरगञ्जका सञ्चालक दिलिप कार्की, इनोभेटिभ संस्थाका सञ्चालक कमल चौगाई, लायन्स क्लब अफ बीरगञ्जका अध्यक्ष डि.एन. अग्रवाल, र एलाईड युथ सोसाइटीका ओम कुमार झा लगायतको उपस्थिति रहेको थियो।

बढ्दो गर्मीका कारण वीरगञ्ज लगायत आसपासका क्षेत्रमा बिरामीको संख्या दिनानुदिन बढ्दो क्रममा रहेको अवस्थामा रगतको अभाव गम्भीर चुनौतीका रूपमा देखिएको छ। यस सन्दर्भमा गरिएको रक्तदान कार्यक्रमले जीवन रक्षाका लागि आवश्यक रगत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

उक्त कार्यक्रमले सशस्त्र प्रहरी परिवार महिला संघको सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता मात्र होइन, समाज सेवामा यसको सक्रिय उपस्थिति पनि पुष्टि गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *