बारा, १९ मंसिर । सशस्त्र प्रहरी बल, नेपाल बाराअन्तर्गतका विभिन्न सीमा सुरक्षा चौकी (बीओपी) तथा मोबाइल टोलीहरूले विभिन्न स्थानमा अलग–अलग रुपमा सञ्चालन गरेको चेकजाँच तथा निगरानी अभियानका क्रममा करिव रु. ५,१६,५५० बराबरका अवैध सामानहरू बरामद गरेको छ। बरामद सबै सामग्री भन्सार प्रक्रियाका लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।
१. पचरौता–पिपरपाती सीमामा रु. १,४७,५०० बराबरको बरामद
मिति २०८२/०८/१८ गते बिहान ०६:४० बजे पचरौता नगरपालिका–०१ पिपरपातीस्थित बीओपी बेनौलीबाट सशस्त्र प्रहरी नायब निरीक्षक श्यामानन्द चमारको कमाण्डमा खटिएको टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरिएको सुख्खा सुर्ती तथा मोटरसाइकल बरामद गरेको हो।
उक्त सामानको अनुमानित मूल्य सुख्खा सुर्ती रु. ४७,५०० र मोटरसाइकल रु. १,००,००० गरी जम्मा रु. १,४७,५०० बराबर रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
२. सिम्रौनगढ–पिठुवा घाटमा रु. १,६९,०५० मूल्यको चप्पल र मोटरसाइकल बरामद
सोही दिन अं. ११:२० बजे सिम्रौनगढ नगरपालिका–०९ पिठुवा घाट क्षेत्रमा बीओपी गोलागंजबाट नायब निरीक्षक तिलकबहादुर गुर्माछानको टोलीले सीमा पार हुँदै अवैध रुपमा ल्याइँदै गरिएको चप्पल र मोटरसाइकल नियन्त्रणमा लिएको छ।
बरामद वस्तुमा रु. ६९,०५० बराबरका चप्पल तथा रु. १,००,००० मूल्यको मोटरसाइकल रहेका छन्। कुल मूल्य रु. १,६९,०५० पुग्छ।
३. निलकण्ठवा सीमामा रु. १,००,००० बराबरको मोटरसाइकल पार्ट्स र चप्पल बरामद
कलैया उपमहानगरपालिका–१० निलकण्ठवा क्षेत्रबाट एफओबी निलकण्ठवाका सहायक नायब निरीक्षक गोबिन्द चौधरी नेतृत्वको टोलीले भारतबाट ल्याइँदै गरेका मोटरसाइकल पार्ट्स र चप्पल बरामद गरेको छ।
बरामद वस्तुको मूल्य करिब रु. १,००,००० रहेको प्रहरीको भनाइ छ। सामान छाडेर व्यक्ति फरार भएका थिए।
४. मटिअर्वा सीमामा रु. १,००,००० बराबरको किराना, मेसिन र राजनिवास बरामद
कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित सीमा क्षेत्रमा गुल्म मटिअर्वाबाट नायब निरीक्षक रामसरण सिलवालको कमाण्डमा खटिएको मोबाईल टोलीले ३/४ जनाले टाउकोमा बोकेको अवस्थामा नेपालतर्फ ल्याउँदै गरेको विभिन्न सामग्री नियन्त्रणमा लिएको हो।
उक्त सामानमा रु. २५,००० बराबरको किराना सामान, रु. ४५,००० मूल्यको कपाल काट्ने मेसिन (१ कार्टुन) तथा रु. ३०,००० मूल्यको राजनिवास (सामग्री) गरी जम्मा रु. १,००,००० बराबरको सामग्री बरामद गरिएको जनाएको छ।
सशस्त्र प्रहरी बल बाराले हाल सीमा क्षेत्रमा अवैध वस्तु तस्करी नियन्त्रणका लागि निगरानी र गस्ती थप कडाइका साथ निरन्तर जारी राखेको बताएको छ। बरामद गरिएको सबै सामग्री आवश्यक कानुनी प्रक्रिया अनुसार वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
