पर्सा, १ भदौ ।
मधेस प्रदेश प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) कृष्ण ढकालको सक्रियता र निर्देशनमा सशस्त्र प्रहरी बल पर्साले करिब रु. ४८ लाख ९१ हजार २७५ बराबरको अवैध सामानसहित ब्रेजा गाडी बरामद गरी भन्सारमा बुझाएको छ।
सशस्त्र प्रहरीका अनुसार भदौ १ गते सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली नेपाल भित्र्याइएका सामान नियन्त्रणमा लिएको हो। बरामद सामानमा रु.१५ लाख ६९ हजार बराबरको कपडा, बटर तथा सवारी साधनका इन्जिन पार्ट्स समावेश छन्। यी सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको हो।
त्यसैगरी, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–९, घण्टाघर नजिक भारतीय नम्बर प्लेट (BR 01 FE 7199) को सुजुकी भिटारा ब्रेजा गाडी नियन्त्रणमा लिएको छ। भारततर्फ जाँदै गरेको सो गाडीलाई शंका लागेर चेकजाँच गर्न खोज्दा चालक गाडी बेवारिसे छोडी फरार भएको प्रहरीले जनाएको छ। उक्त गाडीको कुनै पनि प्रमाणपत्र वा कागजात फेला नपरेपछि यसको मूल्याङ्कन रु.३० लाख गरिएको छ र भन्सार कार्यालयमा बुझाइएको छ।
यस्तै, सोही गुल्मबाट खटिएको अर्को टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित विभिन्न नाकाबाट भन्सार छली नेपाल ल्याइँदै गरेका रु.१ लाख ७० हजार ८८५ बराबरका सामान तथा मदिरा नियन्त्रणमा लिएको छ।
त्यसैगरी, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१९, वर्वाबाट रु.८७ हजार ४२० बराबरको किराना सामान तथा मोटर पार्ट्स नियन्त्रणमा लिएको छ। त्यसैदिन, बीओपी सिर्सियाबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१, छपकैयाबाट रु.६३ हजार ९७० बराबरको कपडा र किराना सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।
यसरी विभिन्न स्थानबाट भन्सार छली ल्याइएका सामान र गाडीको जम्मा मूल्य रु.४८ लाख ९१ हजार २७५ बराबर हुने सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले मधेस प्रदेशका डिआईजी कृष्ण ढकालको सक्रियतामा सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रणमा कडा निगरानी राख्दै अवैध कारोबारविरुद्ध लगातार कारबाही गरिरहेको जानकारी दिएका छन्।
