पर्सा, ८ भदौ ।
पर्सा जिल्लामा अवैध तस्करी नियन्त्रणका क्रममा सशस्त्र प्रहरी बलले ठूलो सफलता हात पारेको छ । सशस्त्र प्रहरी बल नेपाल, पर्सा मातहतको प्रस्तावित सीमा सुरक्षा गुल्म अलौका डिएसपी कृष्ण सिंह पुजाराको सक्रियतामा दुई वटा मोटरसाइकलसहित करिब ६ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ ।
सशस्त्र प्रहरीका अनुसार मिति २०८२ साल भदौ ८ गते बिहान करिब ३:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका–१९ अन्तर्गत बिन्दाबासिनी चोकमा गस्ती टोली खटिएको थियो । डिएसपी पुजाराको नेतृत्वमा गएको मोबाईल गस्ती टोलीले तिन मोटरसाइकल (मोसा) मा लोड गरी ल्याइरहेका विभिन्न सामान बरामद गर्न सफल भएको हो ।
बरामद गरिएका सामानमा किराना सामग्री, गाडीका पार्ट्स तथा कपडालगायत रहेका छन् । ती सबैको मुल्यांकन गर्दा जम्मा ५ लाख ८७ हजार २ सय ५ रुपैयाँ बराबर भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ ।
सीमा क्षेत्रमा भइरहेको अवैध कारोबार नियन्त्रणमा निरन्तर सक्रिय रहँदै आएको सशस्त्र प्रहरीले यस प्रकारका अभियानलाई अझ कडा बनाइने जनाएको छ । डिएसपी पुजाराको सक्रियतामा हालसम्म पटक–पटक ठूलो मात्रामा तस्करीका सामान बरामद हुँदै आएका छन्, जसले सीमा सुरक्षामा सशस्त्र प्रहरीको प्रभावकारी भूमिका देखाएको छ ।
स्थानीयवासीले पनि सशस्त्र प्रहरीले अवैध गतिविधि नियन्त्रणमा देखाएको तत्परताको प्रशंसा गर्दै आगामी दिनमा यस्ता अवैध कारोबारलाई पूर्ण रूपमा रोक्ने विश्वास व्यक्त गरेका छन् ।
