काठमाडौं, १६ असोज।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ।
वर्षाका कारण नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तहसम्म पुग्न सक्ने देखिएको छ। विशेषगरी काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही, रौतहट लगायतका जिल्लामा स–साना नदीमा आकस्मिक बहाव आउन सक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो।
प्राधिकरणले दशैंको भीडभाडलाई मध्यनजर गर्दै निम्न सतर्कता अवलम्बन गर्न आग्रह गरेको छः
- अत्यावश्यक बाहेक घरदेखि टाढा र विशेषगरी रातिको समयमा यात्रा नगर्ने।
- सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा र सडकको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउने निर्णय लिन सक्ने, र सो निर्णयको पालना गर्नुपर्ने।
- पहिरोको जोखिमयुक्त क्षेत्र तथा नदी किनारका बस्तीमा बसोबास गर्नेले उच्च सतर्कता अपनाउने।
- डुबानको जोखिम भएका बस्तीका बासिन्दाले सुरक्षित र अग्लो स्थान पहिल्याउने तथा आवश्यक पर्नासाथ तत्काल सुरक्षित स्थानमा जाने।
तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। साथै, जोखिमयुक्त सडक र राजमार्गमा आवश्यक पर्दा तुरुन्त प्रयोग गर्न डोजर, एक्साभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न समेत भनिएको छ।
प्राधिकरणले पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहकार्य गर्ने साझेदार संस्थाहरुलाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर समन्वयमा रहि सतर्क रहन आग्रह गरेको छ।
