ललितपुर, जेठ १९ । सशस्त्र प्रहरी बल, नेपालले ललितपुरको गोदावरीस्थित जंगल क्षेत्रमा लुकाई–छिपाई राखिएको ठूलो परिमाणको प्रतिबन्धित औषधिजन्य पदार्थ ट्रामाडोल बरामद गर्दै दुई जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीले गोप्य सूचनाका आधारमा सञ्चालन गरेको विशेष अभियानका क्रममा जंगल क्षेत्रमा लुकाएर राखिएको ट्रामाडोल हाईड्रोक्लोराइड क्याप्सुल (ट्रामोल–५०) २१ हजार ६४ पत्ता, अर्थात् २ लाख १० हजार ६ सय ४० पिस बरामद गरेको जनाएको छ।
बरामद गरिएको ट्रामाडोल अवैध रूपमा भण्डारण गरिएको अवस्थामा फेला परेको र घटनासँग सम्बन्धित दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
नेपालमा ट्रामाडोलको अवैध कारोबार तथा दुरुपयोग नियन्त्रणका लागि सुरक्षा निकायले पछिल्लो समय निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। ठूलो परिमाणमा ट्रामाडोल बरामद भएको यो घटनालाई लागुऔषध तथा अवैध औषधि कारोबारविरुद्धको महत्वपूर्ण सफलता मानिएको छ।
सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
