बिरगंज ,२४ कार्तिक।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका २१ वर्षीय सोहेल अन्सारी एप्लास्टिक एनेमियाको गम्भीर अवस्थासँग संघर्ष गरिरहेका छन्। फिरोज अन्सारी र सबनम खातुनका एक मात्र छोरा सोहेलको शरीरले नयाँ रक्त कोष उत्पादन गर्न नसक्ने समस्याका कारण उनलाई बारम्बार रगत चढाउनुपर्ने हुन्छ।
हाल उनलाई वीरगञ्जको नारायणी अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको छ। वीरगञ्जदेखि पाटन अस्पतालसम्मको उपचारमा परिवारको सम्पूर्ण आर्थिक स्रोत समाप्त भएको छ। चिकित्सकहरूले उनलाई बचाउन बोनम्यारो ट्रान्सप्लान्ट आवश्यक रहेको बताएका छन्, जसको लागि ३०–४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
सोहेलको परिवारले आर्थिक अभावका कारण सहयोगको अपिल गरेको छ। यसै बीच, वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन्। यसबारे जानकारी उपमेयरका प्रेस सल्लाहकार महमद सदाबले दिएका छन्।
