सशस्त्रका डीएसपी विकास अधिकारीको तस्करीविरुद्ध कडा प्रहार : एकै दिनमा ५ लाखभन्दा बढीका अवैध सामान बरामद

समाचार

वीरगञ्ज, जेठ २० । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले सीमा क्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै एकै दिनमा करिब पाँच लाख ४८ हजार रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीको नेतृत्वमा सञ्चालन भइरहेको तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिँदै वीरगञ्जस्थित सशस्त्र प्रहरी गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारीले कुशल कमाण्डिङमार्फत तस्करहरूविरुद्ध कडा कारबाही अघि बढाएका हुन्।

सशस्त्र प्रहरीको सक्रियता बढेसँगै सीमावर्ती क्षेत्रमा अवैध कारोबारमा संलग्न तस्करहरू त्रसित बनेका छन्। पछिल्लो समय पर्सा–वीरगञ्ज क्षेत्रमा भइरहेको निरन्तर निगरानी र अपरेशनका कारण तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त भइरहेको सुरक्षा अधिकारीहरूको दाबी छ।

सशस्त्र प्रहरीका अनुसार जेठ १९ गते वीरगञ्ज महानगरपालिका–२ छपकैया क्षेत्रमा डीएसपी विकास अधिकारीको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको सामान नियन्त्रणमा लिएको थियो। टोलीले ना २ ह ३५२० नम्बरको ई–रिक्सामा लुकाइछिपाइ ल्याइँदै गरेको अवस्थामा करिब ३० हजार रुपैयाँ बराबरको यूपीभीसी (UPVC) पाइप बरामद गरेको हो। प्रहरी टोलीले रोकेर जाँच गर्न खोज्दा चालक तथा संलग्न व्यक्ति ई–रिक्सा छाडेर फरार भएका थिए। बरामद पाइपसहित करिब ४ लाख रुपैयाँ मूल्य बराबरको ई–रिक्सा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।


त्यसैगरी सोही दिन वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट नजिकै सशस्त्र प्रहरी टोलीले विशेष चेकजाँच अभियान सञ्चालन गरेको थियो। चेकजाँचका क्रममा विभिन्न सवारी साधनमार्फत भारतबाट भन्सार छली गरी ल्याइँदै गरेको १ लाख १७ हजार ८ सय रुपैयाँ बराबरका कम्प्युटर पार्ट्स, मोबाइल डिस्प्ले, जुत्ता तथा पुरुषहरूले प्रयोग गर्ने पर्सहरू बरामद गरिएको जनाइएको छ। उक्त सामान पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

सशस्त्र प्रहरी बलले पछिल्लो समय सीमा क्षेत्रमा हुने चोरी–तस्करी, राजस्व छली तथा अवैध आयात–निर्यात नियन्त्रणका लागि निगरानी बढाएको छ। डीएसपी विकास अधिकारीको नेतृत्वमा भइरहेको अपरेशनले तस्करी नियन्त्रणमा प्रभावकारी परिणाम दिन थालेको भन्दै स्थानीयवासीले समेत प्रशंसा गरेका छन्।

सुरक्षा निकायका अनुसार तस्करी नियन्त्रण अभियान अझ सशक्त बनाइने तथा सीमावर्ती क्षेत्रलाई अवैध कारोबारमुक्त बनाउन नियमित गस्ती, निगरानी र चेकजाँचलाई निरन्तरता दिइनेछ। सशस्त्र प्रहरीको पछिल्लो कारबाहीले तस्करहरूलाई स्पष्ट सन्देश दिएको छ—सीमामा हुने अवैध गतिविधि अब सहज रूपमा सञ्चालन गर्न नसकिने र तस्करी सञ्जालमाथि कडा निगरानी जारी रहनेछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *