रसीद आलम ,पर्सा, ८ जेठ ।
सीमावर्ती क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले पर्साको वीरगञ्ज महानगरपालिका–१ छपकैया छटघाटमा वृहत् नि:शुल्क आँखा शिविर सञ्चालन गरेको छ।
सशस्त्र प्रहरी बल, नेपालको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत आयोजित उक्त शिविर श्री वविता पराजुली आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो। तिलगंगा आँखा अस्पताल काठमाडौं तथा सामुदायिक आँखा केन्द्र वीरगञ्जसँगको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले कार्यक्रम आयोजना गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मोहन राज निरौलाले जानकारी दिएका छन्।
कार्यक्रममा नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो। शिविरमा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, भद्रभलाद्मी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सामुदायिक आँखा केन्द्र वीरगञ्जबाट डा. मनोज पटेलसहित तीन जना स्वास्थ्यकर्मीको टोलीले सहभागीहरूको आँखाको परीक्षण, परामर्श तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरेको थियो। शिविरमा कुल २११ जनाले नि:शुल्क आँखा परीक्षण सेवा लिएका थिए।
आँखा परीक्षणका क्रममा ३४ जनामा मोतियाबिन्दुको समस्या देखिएको सामुदायिक आँखा केन्द्र वीरगञ्जका व्यवस्थापक महेश सिंह धामीले जानकारी दिए। उनका अनुसार ती बिरामीहरूको तिलगंगा आँखा अस्पताल काठमाडौंबाट आउने वरिष्ठ सर्जन चिकित्सकहरूको टोलीमार्फत शल्यक्रिया गरिनेछ।
विशेषगरी सीमावर्ती तथा विपन्न समुदायका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई राहत पुगेको स्थानीयवासीले बताएका छन्। ग्रामीण तथा सीमावर्ती क्षेत्रमा समयमै स्वास्थ्य सेवा नपुग्ने अवस्थाबीच सशस्त्र प्रहरी बलको यस्तो मानवीय कार्यक्रम प्रभावकारी बनेको सहभागीहरूको भनाइ रहेको छ।
कार्यक्रममार्फत सशस्त्र प्रहरी बलले सुरक्षा जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेको देखिएको छ। स्थानीय समुदायसँग प्रत्यक्ष सहकार्य गर्दै स्वास्थ्य सेवा प्रवाह गरिनु सकारात्मक कदम भएको जनप्रतिनिधिहरूले बताएका छन्।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले यस्ता जनहितमुखी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्वास्थ्य, जनचेतना तथा सामाजिक सहयोगका कार्यक्रममार्फत राज्यप्रतिको विश्वास अभिवृद्धि गर्ने उद्देश्य रहेको सशस्त्र प्रहरीले जनाएको छ।
