मतगणनामा सुरक्षाकर्मी व्यस्त रहेका बेला तस्करी बढाउन खोज्दा सशस्त्रको सक्रियता : ९ लाखभन्दा बढीका अवैध सामान बरामद

समाचार

वीरगञ्ज, २३ फागुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना चलिरहेका बेला सुरक्षाकर्मीहरू मतगणना व्यवस्थापनमा व्यस्त रहेको मौका छोपेर तस्करी बढाउन खोज्ने प्रयास सशस्त्र प्रहरीले विफल पारेको छ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जले विशेष सूचनाका आधारमा विभिन्न स्थानमा कारबाही गर्दै करिब ९ लाख ३७ हजार ९ सय रुपैयाँ बराबरका भन्सार छलीका मालसामान बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरी बल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्रीले सञ्चालन गर्दै आएको तस्करी नियन्त्रण अभियानलाई थप तीव्रता दिँदै सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) विकास अधिकारीको कमाण्डमा खटिएको टोलीले सीमावर्ती क्षेत्रमा सक्रिय रूपमा निगरानी बढाएको हो।

सशस्त्र प्रहरीले जनाएअनुसार मिति २०८२ फागुन २३ गते दिउँसो करिब २ बजे पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ अन्तर्गतका विभिन्न सीमा क्षेत्रमा गुल्म वीरगञ्जबाट डीएसपी अधिकारीको कमाण्डमा खटिएको मोबाइल टोलीले भारतबाट अवैध रूपमा विभिन्न सवारी साधनमार्फत लुकाइछिपाइ ल्याइँदै गरेको क्यामेरा पार्ट्स, मेसिनरी तथा स्टुडियो सम्बन्धी सामान बरामद गरेको हो।

ती सामानको अनुमानित मूल्य ४ लाख ८४ हजार ९ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

यसैगरी सोही दिन बिहान ११ बजेर १५ मिनेटको समयमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१५ स्थित बसपार्क पछाडि सशस्त्र प्रहरी निरीक्षक निरज थापाको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामानसहितको एक इलेक्ट्रिक अटो नियन्त्रणमा लिएको छ।

मधेश प्रदेश ०३–००१ ह ४७१५ नम्बरको इलेक्ट्रिक अटोमा लोड गरी ल्याइँदै गरेको अवस्थामा सशस्त्र प्रहरी टोली पुगेपछि अटो चालक फरार भएको प्रहरीले जनाएको छ। उक्त अटोबाट Malkist बिस्कुट ७ कार्टुन, राजनिवास ३ केजी, रजनीगन्धा २१ केजी लगायतका सामान बरामद गरिएको हो।

बरामद गरिएको ती सामानको मूल्य करिब ५३ हजार रुपैयाँ रहेको छ भने अटोको मूल्य करिब ४ लाख रुपैयाँ आँकलन गरिएको छ। यसरी अटो र सामानसहित जम्मा ४ लाख ५३ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यससँगै फागुन २३ गते मात्र गरिएको कारबाहीबाट कुल ९ लाख ३७ हजार ९ सय रुपैयाँ बराबरका भन्सार छलीका मालसामान बरामद भएको हो।

सशस्त्र प्रहरीका अनुसार डीएसपी विकास अधिकारीले फागुन १ गतेदेखि हालसम्म विभिन्न स्थानमा निरन्तर निगरानी तथा कारबाही गर्दै ४० लाख ६० हजार ६ सय २० रुपैयाँ बराबरका भन्सार छलीका मालसामान बरामद गरी भन्सार दाखिला गरिसकेका छन्।

सीमावर्ती क्षेत्र वीरगञ्ज–रक्सौल नाकामा तस्करी गतिविधि रोक्न सशस्त्र प्रहरीले नियमित गस्ती, मोबाइल टोली परिचालन तथा विशेष सूचनाको आधारमा निगरानी बढाएको जनाएको छ। निर्वाचनको संवेदनशील समयमा समेत तस्करी नियन्त्रणमा सक्रियता देखाउँदै सशस्त्र प्रहरीले सीमाक्षेत्रमा कडाइ कायम राखेको स्थानीय स्रोतहरूले बताएका छन्।

सशस्त्र प्रहरी बल पर्साले आगामी दिनमा पनि सीमाक्षेत्रमा हुने तस्करी, अवैध आयात तथा भन्सार छलीका गतिविधिविरुद्ध कडा निगरानी र कारबाही जारी रहने सशस्त्र प्रहरी पर्सा प्रवक्ता डिएसपी मोहन निरौलाले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *