पर्सा–१ मा ‘घण्टी’ बज्यो : रास्वपाका हरि पन्त फराकिलो मतान्तरले विजयी

राजनीति समाचार

वीरगञ्ज, २३ फागुन ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धिप्रसाद पन्त (हरि पन्त) फराकिलो मतान्तरसहित विजयी भएका छन्।

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस मा शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाको परिणामअनुसार पन्तले २७ हजार २ सय ७४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व मन्त्री प्रदीप यादव ले १३ हजार ३० मत प्राप्त गरेका छन्। पन्तले यादवलाई १४ हजार २ सय ४४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

पर्सा–१ बाट यसअघि दुई पटक निर्वाचित भएका यादवले २०७४ को निर्वाचनमा सङ्घीय समाजवादी फोरम नेपालबाट तथा २०७९ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विजय हासिल गरेका थिए। तर यसपटक एमालेको टिकटमा चुनाव लडेका उनले आफ्नो परम्परागत प्रभाव क्षेत्रमा समेत अपेक्षित सफलता हासिल गर्न सकेनन्।

यस्तै, नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा व्यवसायी अनिल कुमार रुङ्टा ले ११ हजार ८ सय ८५ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। यो उनको संसदीय निर्वाचनमा दोस्रो प्रयास थियो। यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी प्रदीप यादवसँग पराजित भएका थिए।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नन्द किशोर प्रसाद श्रीवास्तव ले १ हजार २ सय ७२ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी (जसपा) नेपालका रामनरेश प्रसाद यादव ले १ हजार २ सय १ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूले भने निकै न्यून मत प्राप्त गरेका छन्।

यस निर्वाचन परिणामले पर्सा–१ को राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन आएको संकेत गरेको विश्लेषकहरू बताउँछन्। रास्वपाका पन्तको जितले मधेस प्रदेशमा पनि पार्टीको प्रभाव विस्तार हुँदै गएको देखिएको छ।

नवनिर्वाचित सांसद पन्तबाट अब पर्सा क्षेत्रको विकास, पूर्वाधार, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवा सुधार जस्ता क्षेत्रमा सक्रिय पहल हुने अपेक्षा गरिएको छ।
निर्वाचन अधिकारीका अनुसार मतगणना प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित तथा पारदर्शी रूपमा सम्पन्न भएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *