संघीय मन्त्रीलाई बदनाम गर्न गरिएको दुष्प्रचारको विरोध, दोषीमाथि कारबाहीको माग

बिदेश राजनीति समाचार

वीरगञ्ज, १२ पुस

जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज नगर कार्य समितिले संघीय मन्त्री प्रदीप यादवलाई लक्षित गर्दै गरिएको दुष्प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई कारबाहीको माग गरेको छ।

नगर अध्यक्ष इश्वरचन्द्र यादवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाइएको ज्ञापनपत्रमा नेपाल सरकारका खानेपानी मन्त्री एवं पार्टीका उपमहासचिव यादवलाई बदनाम गर्ने नियतले जसपा नेपाल  पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवले पत्रकार सम्मेलनमार्फत मनगढन्ते आरोप लगाएको भन्दै तत्काल कारबाहीको माग गरिएको छ।

ज्ञापनपत्रमा रामनरेश यादवको अभिव्यक्तिले समाजमा भाडभैलो निम्त्याउन सक्ने र शान्ति सुरक्षा खललमा पर्ने उल्लेख गर्दै यस्ता अनर्गल अभिव्यक्तिमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन प्रशासनलाई आग्रह गरिएको छ। साथै, कारबाही नभए भविष्यमा हुने अप्रिय घटनाको सम्पूर्ण जिम्मेवारी प्रशासनले लिनुपर्ने चेतावनी पनि दिइएको छ।

यसअघि, वीरगञ्जको वडा नं. २२ जगरनाथपुरमा स्थानीय कृषक हरेन्द्र यादवको धानबालीमा भएको आगलागी घटनामा मन्त्री यादवको संलग्नता रहेको आरोप रामनरेश यादवले लगाएका थिए। जसलाई नगर कार्य समितिले तथ्यहीन र प्रायोजित दुष्प्रचारको रूपमा खारेज गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आगलागीको घटनाको छानबिन जारी रहेको जानकारी दिँदै, तथ्य र प्रमाण बिना कसैमाथि आरोप लगाउनु गलत हुने बताएका छन्।

ज्ञापनपत्र बुझाउने टोलीमा नगर अध्यक्ष यादवसँगै नेता तबरेज अहमद, जिल्ला समन्वय समितिका सभापति अजय सर्राफ, भिमा यादव ,फरिद आलम लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *