काठमाडौं, साउन २६ । खानेपानी मन्त्री प्रदीप यादवको विशेष पहलमा आज सिंहदरबारमा भारत सरकारका विज्ञ टोलीसँग मधेश प्रदेशमा देखिएको गम्भीर खानेपानी संकट समाधानबारे महत्वपूर्ण बैठक सम्पन्न भएको छ।
बैठकमा मधेश प्रदेशमा बढ्दो पानी अभाव र यसको दीर्घकालीन समाधानका उपायहरूबारे गहन छलफल गरिएको मन्त्री यादवले जानकारी दिए। उनका अनुसार भारतीय विज्ञ टोली भोलि मंगलबारदेखि तराई–मधेसका संकटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि आवश्यक कार्ययोजना तयार गर्नेछ।
हाल सबैभन्दा गम्भीर संकट वीरगंज महानगरपालिकामा देखिएको छ भने बारा र अन्य जिल्लाका विभिन्न वडाहरूमा पनि पानी अभावका कारण जनजीवन प्रभावित बनेको छ।
नेपाल सरकार मधेश प्रदेशका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन तथा नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको मन्त्री यादवको भनाइ छ।
यो सहकार्य केही महिना अघि नेपाल–भारतबीच जलशक्ति मन्त्रालयमार्फत हस्ताक्षर भएको समझदारीपत्र (MOU) को परिणामस्वरूप सम्भव भएको हो, जसले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
