बारा, २६ साउन । जिल्ला प्रहरी कार्यालय बाराको मातहतमा रहेको इलाका प्रहरी कार्यालय प्रसौनिका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरीले मटिअर्वा तर्फबाट आएको टेम्पोमा राखिएको ठूलो मात्रामा अवैध कपडा बरामद गरेको छ। प्रहरीले यो कारबाहीलाई तस्करी संजालमाथिको कडा प्रहारका रूपमा लिएको छ।
प्रहरीका अनुसार, २०८२ साल साउन २६ गते दिउँसो करिब ३ बजेतिर बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–५, नकटुवा स्थित मटिअर्वा तर्फबाट बिरगंजतर्फ गइरहेको ना.२ ह ५६७६ नम्बरको टेम्पोमा विभिन्न लत्ता–कपडा भन्सार छलि चोरी पैठारी गरी ल्याइँदै छ भन्ने विशेष सूचना प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोली उक्त स्थानमा पुग्दा, टेम्पोमा प्लास्टिकका बोरा राखी अवैध कपडा ल्याउँदै गरेको अवस्थामा चालकले प्रहरी देख्नेबित्तिकै टेम्पो र सामान त्यहीँ छोडेर फरार भएको बताइएको छ।
प्रहरीले उक्त वेवारिसे अवस्थामा रहेको टेम्पो र चोरी पैठारी गरिएका कपडाहरु नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि बिरगंज भन्सार कार्यालय पठाएको छ।
बरामद गरिएका कपडाको विवरण यसप्रकार छः
- लेडिज भेष्ट – ४० पिस, अनुमानित मूल्य रु. २०,०००
- लेडिज कुर्ता सुट – २६ पिस, अनुमानित मूल्य रु. ३९,०००
- ताना कपडा – १६० मिटर, अनुमानित मूल्य रु. ३२,०००
- पुरुषले लगाउने धोति कपडा – ९ पिस, अनुमानित मूल्य रु. १३,०००
- गम्छा – २० पिस, अनुमानित मूल्य रु. २,०००
- सुट कपडा – ८६ मिटर, अनुमानित मूल्य रु. ८६,०००
- ना.२ ह ५६७६ नम्बरको टेम्पो – अनुमानित मूल्य रु. २,५०,०००
कुल मूल्याङ्कन अनुसार, बरामद गरिएका कपडा र टेम्पोसहितको सम्पूर्ण सामानको मूल्य रु. ४,४२,००० बराबर रहेको प्रहरीले जनाएको छ।
हाल फरार चालकको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको बारा प्रहरीले जनाएको छ।
