बारा, २ कार्तिक ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण मुख्यालय, बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको नेतृत्वमा संचालित तस्करी नियन्त्रण अभियान अन्तर्गत सशस्त्र प्रहरीले बाराका विभिन्न नाकाहरूबाट ठूलो परिमाणमा भन्सार छलिएका अवैध सामानहरू बरामद गरेको छ।
गणपति केसीले सिमानाक्षेत्रमा तस्करी नियन्त्रणका लागि सुरक्षाकर्मीहरूलाई परिचालन गरी भारतबाट अबैध रूपमा नेपाल भित्र्याइएका कपडा र किराना सामग्रीमाथि नियन्त्रण कडा पारेका छन्। अभियान अन्तर्गत तीनवटा फरक-फरक स्थानमा गरी करिब रु. ६ लाख ३१ हजार बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
पहिलो घटना : बसतपुर इलाकामा कपडा बरामद
मिति २०८२ साल कार्तिक १ गते दिउँसो करिब १२:३० बजेको समयमा कलैया उपमहानगरपालिका–२०, बसतपुर क्षेत्रमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइएका विभिन्न कपडाहरू आँपघारी क्षेत्रमा वेवारिसे अवस्थामा लुकाइराखेको अवस्थामा भेटिएको थियो।
उक्त कपडाहरूको अनुमानित मूल्य रु. ३,७५,००० रहेको बताइएको छ। उक्त सामानहरू प्रस्तावित सिमा सुरक्षा गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी नायब निरीक्षक (स.प्र.ना.नि.) दिपेन्द्र राना भाटको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो।
दोस्रो घटना : मुसहर्वा सीमामा धोती र कुर्ता-सुरुवाल बरामद
सोही दिन साँझ करिब ७:४५ बजे बिश्रामपुर गाउँपालिका–३ मुसहर्वा सिमाक्षेत्रमा बिओपी बरैनियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक (सप्रनि) सन्दिप के.सी.को टोलीले भारततर्फबाट नेपाल भित्र्याइँदै गरेका कपडाहरू बरामद गरेको थियो।
टोलीले सो स्थानमा छाडिएको ४८ पिस सुतीको धोती र ३ पिस कुर्ता-सुरुवाल, जसको अनुमानित मूल्य रु. ४५,५००, रहेको बरामद गरेको बताइएको छ। सामान बोकेर ल्याउने व्यक्ति भने घटनास्थलमै फरार भएका छन्।
तेस्रो घटना : कलैया ३ बाट किराना सामान बरामद
त्यसैगरी कार्तिक १ गते अपराह्न करिब ४:३० बजे कलैया उपमहानगरपालिका–३, दुर्गा माध्यमिक विद्यालय आसपास क्षेत्रबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएका किराना सामानहरू बरामद गरेको हो।
मोबाइलसहितका उक्त सामानहरूको अनुमानित मूल्य रु. २,११,००० रहेको बताइएको छ। गणबाट खटिएको विशेष टोलीले ती सामग्री नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बाराका अनुसार, बरामद गरिएका सबै सामानहरू आवश्यक कारबाहीका लागि आजै भन्सार कार्यालय वीरगञ्ज बुझाइने छन्।
गणपति एसपी खुमबहादुर केसीले सिमानाक्षेत्रमा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै निरन्तर निगरानी र छापा अभियानलाई तीव्र बनाइएको बताउँदै भने,
“सीमाबाट हुने भन्सार छलका गतिविधि रोक्न सशस्त्र प्रहरी सदैव सतर्क र प्रतिबद्ध छ। अवैध कारोबारमा संलग्न जो कोहीमाथि पनि कानुनी कारबाही हुने छ।”
तत्कालीन समयमा उत्सव र चाडपर्व नजिकिँदै गर्दा सशस्त्र प्रहरीले सीमाक्षेत्रमा निगरानी बढाएको जनाइएको छ।
सशस्त्र प्रहरीको सक्रियताले बाराका सीमाक्षेत्रहरूमा तस्करी नियन्त्रणमा ठोस प्रभाव पारिरहेको देखिन्छ। एसपी खुमबहादुर केसीको नेतृत्वमा सञ्चालन भइरहेका यस्ता अभियानहरूले सिमानाक्षेत्रमा सुरक्षाप्रतिको जनविश्वास अझ प्रगाढ बनाउँदै लैजाने अपेक्षा गरिएको छ।
