रसीद आलम,बिरगंज ,८ साउन ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा पर्साले आर्थिक वर्ष २०८०/०८१ को कार्य प्रगति विवरण सार्वजनिक गरेको छ।
सशस्त्र प्रहरी पर्साका प्रमुख एसपी राधेश्याम धिमाल र प्रवक्ता डिएसपी देबेन्द्र बहादुर सिंहले संयुक्त रुपमा वार्षिक प्रगति विवरण सार्वजनिक गरेका हुन्।
अवैध सामान बरामद, राजश्व संकलन:
गत आर्थिक वर्षको साउन १ देखि २०८१ असार मसान्तसम्ममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा पर्सा तथा मातहतका युनिटहरूबाट विभिन्न किसिमका भन्सार छलीका सामानहरू बरामद गरी कुल ३४ करोड २७ लाख ७८ हजार ३ सय १३ रुपैयाँ राजस्व संकलन गरेको एसपी धिमालले बताएका छन्।
उक्त भन्सार छलीका समान ओसार-पसार गर्न प्रयोग गरिएको ट्रक लगायतका सवारीसाधनहरू तथा तस्करीमा सङ्गलन १९ जनालाई भन्सार कार्यालय वीरगन्ज र आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाएको उनले बताए।
हुण्डी कारोबार:
आर्थिक वर्ष २०८०/८१ मा हुण्डी कारोबारमा सङ्गलन १५ जनालाई पक्राउ गरिएको र ६० लाख ३० हजार ९ सय ८५ नेपाली रुपैयाँ तथा १४ लाख ७४ हजार ४ सय ८० भारतीय रुपैया बरामद भएको धिमालले बताए।
लागुऔषध बरामद र कारबाही:
सोही अवधिमा लागुऔषधका कारोबारमा सङ्गलन २६ जना पक्राउ परेका थिए।
त्यस्तै, सशस्त्र प्रहरी टोलीले २२६ किलो लागुऔषध गाँजा, १ किलो २०० ग्राम चरेस , ४.३७ ग्राम ब्राउन सुगर,डाईजोपाम ९६९ पिस,फेनार्गन ८७९ पिस,नाईट्रोभेट २४८ पिस,नुफिन ९९७ पिस,नाईट्राजेपाम ४४ पिस,ओनेरेक्स ८३ बोतल र ट्रमाडोल १५०२६ पिस बरामद गरेको प्रवक्ता डिएसपी देबेन्द्र बहादुर सिंहले बताए।
अबैध काठ चोरी तस्करी :
आर्थिक वर्ष ८०/८१ मा सशस्त्र प्रहरीले अबैध काठ चोरी तस्करीमा ३ जनालाई पक्राउ गरि सम्बन्धित वन कार्यालयमा बुझाएको छ।४० लाख ९३ हजार ३ सय ५५ रुपैयाँ बराबरको १५५४ क्युफिट अबैध काठ बरामद गरेको प्रवक्ता तथा डिएसपी सिंहले जानकारी दिए।
सोही अवधिमा सशस्त्र प्रहरीले चेलीबेटी बेचबिखनमा संलग्न १५ जनालाई पक्राउ गरिएको तथा अबैध उत्खननमा बालुवा ट्याक्टर सहित १ जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
