बारा, ७ वैशाख । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बारामा दरबन्दी भई बि.ओ.पि. बरैनिया, बारामा कार्यरत एक सशस्त्र प्रहरी जवान सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका छन्।
सोमबार राति करिब १२:१५ बजे जिल्ला बारा प्रसौनी गाउँपालिका–३ स्थित गण्डक चौकमा मोटरसाइकल दुर्घटना हुँदा सप्रबह इन्द्र बहादुर रमौली घाइते भएका हुन्। उनी मिति २०८३ वैशाख ६ गतेदेखि १२ गतेसम्मका लागि स्वीकृत बिदामा रहेका थिए।
प्रहरीका अनुसार रमौलीले मधेश प्रदेश ०३२ प ३००२ नम्बरको मोटरसाइकल चलाएर वीरगञ्जबाट घर फर्किने क्रममा सोही दिशातर्फ जाँदै गरेका साइकलयात्रीलाई पछाडिबाट ठक्कर दिएका थिए। दुर्घटनामा साइकलयात्री कलैया उपमहानगरपालिका–३ गागापुर निवासी करिब ३० वर्षीय कृष्ण प्रसाद कुर्मी सामान्य घाइते भएका छन्।
दुर्घटनामा रमौलीको दाहिने हात भाँचिएको छ भने अनुहार र नाकमा गम्भीर चोट लागेको छ। उनलाई उपचारका लागि परवानीपुरस्थित एल.एस. न्युरो अस्पतालमा भर्ना गरिएको छ, जहाँ हाल उनको उपचार भइरहेको छ। साइकलयात्री कुर्मीको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल इलाका प्रहरी कार्यालय प्रसौनीको नियन्त्रणमा रहेको छ। घटनास्थलमा सशस्त्र प्रहरी निरीक्षक सन्तोष चौलागाईंको कमाण्डमा ५ जनाको टोली तथा नेपाल प्रहरीका तर्फबाट पनि संयुक्त टोली परिचालन गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
