(पर्सामा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन सम्पन्न)
पर्सा, ५ जेठ ।
सशस्त्र प्रहरी बल, नेपालले जलजन्य विपद् व्यवस्थापन तथा उद्धार क्षमतालाई प्रभावकारी बनाउने उद्देश्यले पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरा क्षेत्रमा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा नजिक रहेको पोखरी क्षेत्रमा आयोजित उक्त अभ्यासमा पानीमा डुबेका व्यक्तिको खोज तथा उद्धार, उद्धार सामग्रीको प्रयोग, प्राथमिक उपचार तथा विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे व्यवहारिक प्रदर्शन गरिएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अशोक कुमार वमको प्रमुख आतिथ्यता रहेको थियो।
सेमुलेशन अभ्यासमा सिद्धार्थ माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दासहित करिब १५० जनाको सहभागिता रहेको थियो। सहभागीहरूले विपद्को समयमा अपनाउनुपर्ने सतर्कता, उद्धार प्रक्रियाको महत्व तथा सुरक्षाका उपायबारे प्रत्यक्ष जानकारी लिएका थिए।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाका अनुसार यस्ता अभ्यासले विपद्को समयमा सुरक्षाकर्मी र स्थानीयवासीबीच समन्वय बढाउनुका साथै उद्धार कार्यलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
