वीरगंजमा २५/२५ मिटर सडक सीमा कार्यान्वयन सुरु हुने संकेत, महानगरद्वारा शान्ति सुरक्षाको माग

समाचार

वीरगंज,५ बैशाख  । वीरगंजको मुख्य सडक आसपासका भौतिक संरचना हटाउने प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ। सम्मानित सर्वोच्च अदालत को मिति २०८१ फागुन २८ गतेको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायहरू सक्रिय बनेका हुन्।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं तथा सडक डिभिजन कार्यालय हेटौंडा ले वीरगंज महानगरपालिकासँग समन्वय गर्दै त्रिभुवन राजपथअन्तर्गत मितेरी पुलदेखि गण्डक नहर चोकसम्मको सडक क्षेत्रमा २५/२५ मिटर सीमा कायम गर्ने प्रक्रिया अगाडि बढाएका छन्।

यसैक्रममा वीरगंज महानगरपालिका ले उक्त कार्यान्वयनका क्रममा सम्भावित अवरोध र संवेदनशीलतालाई ध्यानमा राख्दै शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन अनुरोध गरेको छ। महानगरले जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण लाई पत्राचार गर्दै आवश्यक सुरक्षा समन्वय गर्न आग्रह गरेको हो।

सडक डिभिजन हेटौंडाले यसअघि नै स्थानीय सञ्चारमाध्यममार्फत सार्वजनिक सूचना जारी गरिसकेको छ। सोही सूचनाअनुसार सडक सीमाङ्कन, रेखाङ्कन, सूचना प्रवाह तथा आवश्यक मेसिन उपकरणको प्रयोगसहित सडक क्षेत्र खाली गराउने तयारी भइरहेको छ।

महानगरले सरोकारवाला सबैलाई अदालतको आदेशअनुसार सहयोग गर्न अपिल गर्दै सम्भावित तनावलाई मध्यनजर गरी सुरक्षा निकायसँग सहकार्य अगाडि बढाएको जनाएको छ।

यस निर्णयसँगै वीरगंजको मुख्य सडक क्षेत्र फराकिलो बनाउने र अव्यवस्थित संरचना हटाउने कार्य तीव्र हुने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *